कालेबुङ, १६ अप्रेल : सन् १९८० –को दशकको चर्चित जङ्गी नेता एवं जीएलओ प्रमुख छत्रे सुब्बाले यसपालिको लोकसभा चुनाउमा भाजपाले शतप्रतिशत जीत दर्ता गर्ने बताएका छन्। साथै उनले भाजपा उम्मेद्वार राजु विष्टलाई पनि समर्थन गरेका छन्।
मङ्गलबार कालेबुङका पत्रकारहरूसँग कुराकानी गर्दै सुब्बाले यस्तो दाबी गरेका हुन्। उनले देशभरि भाजपाले इमानदारपूर्वक कार्य गरिरहेको बताए। उनले भने, “प्रधानमन्त्रीले धेरै राम्रो कार्य गरिरहेका छन्। भाजपाले देशभरि इमानदार कार्य गरिरहेको छ। यसैले मैले भाजपालाई समर्थन गरेको हुँ।”
“अहिले मान्छेको मन र दिमागमा भाजपा बसिसकेको छ। भाजपाले कुन काम र विकास गरेको छ। विशेषगरी युवा जमात भाजपासँग थाह छ”, उनले भने, “भाजपाले राम्रो काम गरेको देखेको छु। भाजपा सरकारमा भ्रष्टाचार छैन। यसैले म त भाजपालाई समर्थन गर्छु।”
सुब्बाका अनुसार दार्जीलिङ र बङ्गालको भाजपाले शासन नरहेकोले भाजपाले दार्जीलिङका लागि केही गरेन भन्ने कुरा न्यायसङ्गत छैन। “भाजपाको शासन आएर पनि दार्जीलिङका लागि केही गरेन भने हामीले त्यतिबेला हामीले सोचौंला’’, उनले भने।
विमल गुरुङको सम्बन्धमा सोधिएको एक प्रश्नको उत्तरमा सुब्बा गोजमुमो प्रमुख गुरुङले माटो र जातिका लागि केही कार्य गरिरहेकोले आफू खुशी रहेको बताए।
“विमल गुरुङले माटो र जातिका लागि कोशिश गर्दैछन्” , छत्रे सुब्बाले थपे, “तर यो कार्यका कति टेक्निकल प्रोब्लम छ, त्यो शायद उनले बुझेका छैनन्। यो यो कुरा उनले बुझ्नुपर्छ। किनभने उनले आन्दोलन गरेको धेरै भयो।”
सुब्बाका अनुसार अहिले उनी राजनीतिबाट टाढ़ा छन्। सुब्बाकै भाषामा अहिले उनी ध्यानलाई प्रमुखता दिन्छन्। सानैदेखि आध्यात्मिक कुरामा रूचि रहेकोले अहिले बाहिर दुनियाँ यावत् कुराहरूभन्दा धेर ध्यानमा समय बिताउने गर्छन्।
उनले आफू गोर्खाल्याण्डका लागि मात्र समर्पित र प्रतिबद्ध रहेको ठोकुवा गरे। साथै गोर्खाल्याण्ड आन्दोलनका नाममा नेतृत्वहरू केवल पैसाको पछि कुद्ने गरेको पनि बताए।