जाप धरनामा : कि विकल्प दिइयोस्, नभए चुनाउ पछि सारियोस् : डा. हर्क

0
1570
मुख्य चुनाउ आयुक्तलाई गरेको उजुरीको प्रतिलिपि देखाउँदै डा. हर्कबहादुर छेत्री।

कालेबुङ, १६ अप्रेल : दार्जीलिङमा जनसभा गर्न नपाएको भन्दै मङ्गलबार जनआन्दोलन पार्टीले कालेबुङको जिल्लापाल कार्यालय अघि चारघण्टा धरना बस्यो।

धरनामा जाप प्रमुख एवं लोकसभा उम्मेद्वार डा. हर्कबहादुर छेत्री, महासचिव नयन प्रधान, चेली एकाइ प्रमुख प्रतिभा कुमाइ,  जाप ब्युरो सदस्यद्वय नोर्देन पेम्पा हिस्से र नवराज गुरुङ युवा एकाइ महासचिव भूपेन राईलगायत अन्यको सहभागिता थियो।

यता, धरनाबारे बोल्दै जाप प्रमुख एवं उम्मेद्वार डा. छेत्रीले चुनाउ आयोगले जापको गणतान्त्रिक अधिकारको हनन् गरेको आरोप लगाए। छेत्रीका अनुसार चुनाउ आयोगले नै एकजना उम्मेद्वारको गणतान्त्रिक अधिकार खोसेको छ। हनन् गरेको छ, जुन चुनाउ आयोगले आफै चुनाउ आचार संहिताको उल्लङ्घन गरेको दह्रो उदाहरण हो।

जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै उनले भने, ‘‘जापले दार्जीलिङमा जनसभा गर्नै पाएन।’’ जापलाई जनसभाको गर्न अनुमति नदिनुको जुन कारण चुनाउ आयोगले देखाएको छ, त्यो चित्त बुझ्दो र सटीक छैन। ‘‘दार्जीलिङ संसदीय क्षेत्रबाट चुनाउमा खड़ा भएका एकजना उम्मेदवारले दार्जीलिङमा नै जनसभा गर्न नपाए कहाँ गर्नु हो?’’, छेत्रीले प्रश्न गरे।

उनका अनुसार प्रशासनबाट अनापत्ति-पत्र नपाएकोले जनसभा गर्ने अनुमति नदिएको भन्ने चुनाउ आयोगको भनाइ रहेको पनि जाप अध्यक्ष एवं उम्मेदवारले बताएका छन्।

छेत्रीले थपे, ‘‘तर चुनाउ आयोगको नियममा एकजना उम्मेदवारलाई जनसभा गर्नका लागि पुलिस प्रशासनबाट अनुमति लिनैपर्छ भन्ने अत्यावश्यक छैन। हामीले १४, १५, र १६ अप्रेलको दिन लगातार जनसभा गर्न पाउनेपर्ने भन्दै अनुमति माग्यौं, तर पाएनौं। सबै राजनीतिक दलले दार्जीलिङमा जनसभा गर्न पाए, तर जापलाई मात्र किन बोल्न नदिने काम गऱ्यो?’’

उनका अनुसार जापलाई जनसभा गर्न रोक्नुमा चुनाउ आयोग र बङ्गालको पुलिस प्रशासन दुवैको षड़यन्त्र छ। किनभने रिटर्निङ अफिसर केन्द्रका प्रतिनिधि हो भने पुलिस प्रशासन राज्यको।

‘‘आखिर जापसँग केन्द्र र राज्य सरकार किन यति साह्रो डराउँछ?’’, जाप उम्मेदवारले प्रश्न गरे, ‘‘जापले के कुरा खुलासा गर्छ भनेर  केन्द्र र राज्य यति साह्रो आतङ्कित?’’

उनले थप भने, ‘‘चुनाउ आयोगले केवल जापलाई जनसभा गर्न नदिएर जाप उम्मेदवारको गणतान्त्रिक अधिकारलाई मात्र खोसेको छैन, तर एक राम्रो विकल्प चुन्ने जनताको अवसरलाई पनि समाप्त गरेको छ।’’

आज यसै विषयलाई लिएर कालेबुङ जिल्लापालमार्फत् जापले मुख्य चुनाउ आयुक्तसमक्ष उजुरी गरेको छ। उजुरीमा जापले जनसभाको अनुमति माग्दै लेखेका पत्रहरूको प्रतिलिपि पनि खामेको छ। साथै कि त विकल्प दिनुपर्ने नभए चुनाउलाई पछि सार्नुपर्ने माग पनि जापले गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here