कालेबुङ, 20 अप्रेल : विनयपन्थी युवा मोर्चाले आफूमाथि लगाएको आरोपलाई विमल गुरुङपन्थी गोजमुमोले खण्डन गर्दै यसलाई सुनियोजित षड़यन्त्रको संज्ञा दिएको छ। विमलपन्थी गोजयुमो कालेबुङका प्रमुख समन्वयक तोप्देन भोटियाले जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै भने, “यो घटना हामीमाथि झूटा आरोप लगाउन विनयपन्थी गोजमुमोले आफै गरेको घटना हो। हारले आतिएका विनय गुटले केही उपाय नभएपछि गरेको यो सुनियोजित षड़यन्त्र मात्र हो, अरु केही होइन। ज-जसले हामीमाथि झूटा आरोपहरू लगाउँदैछन्, उनीहरूबीचकै मानिसहरू नै यो घटनामा सामेल छन्। किनभने हामीलाई झूटा आरोपहरूमा फँसाएर गोर्खा जातीय हितको राजनीतिमा अघि बढ़्न नदिने षड़यन्त्र उनीहरूले गर्दैछन्।”
भोटियाले थप भने, “हामी कानूनमा विश्वास गर्छौं। हामी सिङ्गो गोर्खा जातिको हित र अधिकारका लागि सङ्घर्ष गरिरहेका छौं। हाम्रा शत्रुता उनीहरूसँग छैन, हाम्रो सङ्घर्ष त बङ्गाल सरकारसँग हो। उनीहरूलाई थाहा भइसकेको छ, उनीहरूको हार शतप्रतिशत निश्चित छ। त्यसैले झूटा आरोपहरू हामीहरूमाथि थोप्ने काम गर्दैछ। हामीलाई न्यायपालिकामाथि विश्वास छ। घटनामा को दोषी छ, को निर्दोष पत्तो लागिहाल्छ। किनभने जतिबेला यो घटना घटेको बताइँदैछ, त्यसबेला म कालेबुङको एक स्थानीय च्यानलमा तृणमूल कङ्ग्रेसका नेतासँग लाइभ डिबेट गर्दै थिए। यो कुरा कालेबुङका पुलिसलाई पनि थाह छ।”
भोटिया विनयपन्थी गोजमुमोका नेताहरूलाई यस्ता निम्न स्तरको राजनीति र व्यक्तिगत स्वार्थ तथा झूटले ठड्याएको सत्ता जोगाउने घृणित षड़यन्त्र गर्ने कार्यबाट माथि उठेर जातिको हित र अधिकारका लागि राजनीति गर्ने सुझाएका छन्।
“हामीले जुन राजनीति गरिरहेका छौं, त्यो सिङ्गो गोर्खा जातिका लागि हो। उनीहरूजस्तो आफ्नो व्यक्तिगत स्वार्थका लागि हामीले राजनीति गरेका होइनौं। जाति र माटोको व्यापार गर्ने सत्तामा बसेकाहरूले हामीमाथि जुन निराधारको आरोप लगाउँदैछन्, त्यो अत्यन्त निन्दानीय कुरा हो”, भोटियाले थपे, “यस्तो राजनीतिको हामी कड़ा शब्दमा निन्दा गर्छौं। भर्त्सना जनाउँदछौं। र व्यक्तिगत स्वार्थका लागि र जसरी पनि सत्तामा बसिरहने लोभमा यस्ता घृणित काण्ड आफै गरी हामीलाई दोष्याउने राजनीति उनीहरूले बन्द गरुन्। हामीले के लागि राजनीति गरिरहेका छौं, त्यो जनतालाई थाहा छ।”
भोटियाका अनुसार उनीहरूले जहिल्यै शान्तिप्रिय र गणतान्त्रिक ढङ्गमा आफ्ना माग र सङ्घर्षलाई अघि बढ़ाइरहेका छन्।
उनले थपे, “हामी अगणतान्त्रिक र कानूनमाथि आँच आउने कहिलल्यै गतिविधिमा संलग्न भएनौं र भविष्यमा पनि हुनेछैनौं। आजसम्म कालेबुङको राजनीतिमा तोप्देन भोटियाहरूले एउटा किरासमेत मारेको इतिहास छ भने भनुन्। हामीले जुन राजनीति गरिरहेका छौं, त्यो उनीहरू (विनयपन्थी गुटका नेताहरू) र उनीहरूका परिवारहरूका लागि पनि हो। हाम्रो राजनीति आफ्नै दाजु भाइको गाड़ी तोड़फोड़ गर्ने र उनीहरूलाई क्षति पुर्याउने होइन, तर सिङ्गो गोर्खा जातिको सपना र जनाकांक्षा पूरा गरी सुनौलो भविष्य कोर्ने हो।’’