खरसाङ, 26 अगस्टः गोर्खा जन पुस्तकालयद्वारा आयोजना गरिने मासिक साहित्यिक कार्यक्रम ‘सुनौं-सुनाऔं’को आजको 43 औं प्रकरणमा ‘विशेष श्रष्टा’को रूपमा ‘गीतिकुंज संगीत महाविद्यालय’का प्राचार्य तथा गजलगो गोविन्द सिंह घतानी ‘गोविन्दे’ रहे। पुस्तकालयको पारसमणि प्रधान प्रेक्षागृहमा सम्पन्न उक्त कार्यक्रममा ‘श्रष्टासित संवाद’ साहित्यकार संजीव छेत्रीले गरे। सोधिएका प्रश्नहरूको उत्तरमा श्रष्टा ‘गोविन्दे’ले गजल विधालाई पनि अन्य विधाहरू जस्तै उत्तरोत्तर प्रगति गराउन हो भने साधकहरूले लेखन अनि गायनमा निरन्तरता दिनुपर्ने बताए। एउटा पुस्ताबाट अर्को पुस्तामा सङगीतीय ज्ञानको हस्तान्तरण गरिँदा त्यो पूर्ण हुनपर्ने उनको भनाइ थियो। परिक्षा अघि हतारका साथमा क्रस कोर्स गरेको जस्तो गरिँदा, यस्तो चलन निकै घातक हुनसक्ने उनले बताए। संवादकर्तालाई उत्तर दिने क्रममा उनले भने “सङ्गीत साधनामा लागेपछि पुरस्कार पाउनुपर्छ भनेर लागेको होइन, अहिलेसम्म पुरस्कार पाउनुपर्छ भनेर सोचेको छुइन पनि।“
कार्यक्रमअन्तर्गत् स्रष्टा गोविन्देले स्वरचित गजलहरू पठन गर्नुका साथै गायन प्रस्तुति पनि गरेका थिए। उनले लेखेका गजलहरू गायकद्वय सुजित खवास अनि सुनिता गजमेरले प्रस्तुत गरे भने गजल गायनअन्तर्गत् तबलामा सन्तोष सिंह घतानी, भायलीनमा अरबिन्द रावत एवं गिटारमा कृष्ण शर्माले सहयोग गरेका थिए। कार्यक्रममा स्रष्टा ‘गोविन्दे’ ले आफ्नो साङ्गीतिक जीवनका अनुभवहरू पनि साझा गरे।
गोविन्देका ‘गोविन्देका गजल’, ‘गोविन्देका 108 गजल’ गजलसंग्रहहरू लगायत शास्त्रीय संगीत विषयका कृति पनि प्रकाशित रहेका छन्। उनी ‘अनुराधा स्मृति पुरस्कार’ द्वारा पुरस्कृत् अनि शास्त्रीय संगीतको प्रचार-प्रसारको निम्ति काठमाडौंमा गीति गुंज सङ्गीत महाविद्यालयको प्राचार्यको रूपमा सम्मानित भएका छन्।
बालकृष्ण थामीले संचालन गरेको आजको कार्यक्रममा स्रष्टाहरू दिल थापा, युवराज सुन्दास, अमित सुब्बा ‘विकल्प’, प्रभात राई ‘चिसो’, उत्तम थापा, योगिता राई, उज्जवल सेवा, अशोक विश्व, वासुदेव पुलामी, रचना राई ‘अनाकार’, नितेस राई, सपन गिरी, तथा कार्यक्रम संचालक बालकृष्ण थामी द्वारा रचना पाठ गरिए। कार्यक्रममा पर्यवेक्षको भूमिका प्राध्यापक योगेस खातीले वहन गरेका थिए ।
कार्यक्रमअन्तर्गत् यसपल्टका भाइचन्द्र स्मृति पुरस्कार प्रापक प्राध्यापक एवं साहित्यकार वासुदेव पुलामीलाई गोर्खा जन पुस्तकालयको तर्फबाट सम्वर्द्धना पनि जनाइएको थियो। सम्वर्द्धना-पत्र पठन पी.लक्की शेर्पाले गरेकी थिइन्। सम्वर्द्धित श्रष्टाको परिचय साहित्यकार संजीव छेत्रीले राखे। कार्यक्रममा दार्जीलिङ, टुंग, खरसाङ, तीनधारे, सिटोंग, सिलगढ़ी, डुवर्स आदि क्षेत्रबाट साहित्यकार/साहित्यानुरागीहरूको उपस्थिति थियो।