बङ्गालको वर्तमान अवस्था 15 वर्ष अघिको बिहारजस्तै : विशेष पर्यवेक्षक

0
1149
चुनाउ आयोगका विशेष पर्यवेक्षक अजय भी नायक (फोटो साभार- इन्टरनेट)।

कोलकाता, 21 अप्रेल : पश्चिम बङ्गालको वर्तमान अवस्था 15 वर्ष अघिको बिहारजस्तै रहेको चुनाउ आयोगका विशेष पर्यवेक्षक अजय भी नायकले बताएका छन्।

शनिबार कोलकातामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। नायक बिहारका मुख्य चुनाउ अधिकारी (सीईओ) पनि रहिसकेका छन्।

उनका अनुसार बङ्गाल पुलिसमाथि जनताले भरोसा गर्दैनन्। यसैले सबै मतदान केन्द्रमा केन्द्रिय बलको तैनाथीको माग बढ़ेको हो।

“बिहारमा अहिले अवस्था सुध्रिएको छ। त्यहाँ कम सङ्ख्यामा केन्द्रिय बलको आवश्यकता पर्छ”, उनले भने। सन् 1984 ब्याचका आईएएस अधिकारी नायकलाई पश्चिम बङ्गालमा हुने अन्तिम पाँच चरणको चुनाउको निगरानी गर्ने जिम्मेवारी सुम्पिएको छ।

उनले भने, “पश्चिम बङ्गालको वर्तमान अवस्था बिहारको 15 वर्ष पुरानो अवस्थाजस्तै छ। बिहारमा त्यस समय सबै मतदान केन्द्रमा केन्द्रिय बलको तैनाथीको आवश्यकता हुन्थ्यो। अहिले यस्तो आवश्यकता पश्चिम बङ्गालमा पर्छ। किनभने राज्यका मानिसहरूले पश्चिम बङ्गाल पुलिसमाथि भरोसा गर्दैनन्। उनीहरूले सबै मतदान केन्द्रमा केन्द्रिय बलको तैनाथीको माग गरिरहेका छन्।”

राज्यका मुख्य चुनाउ अधिकारी आरिज अफताबको उपस्थितिमा भने, “मैले बुझ्नै सकिरहेको छुइनँ, जब बिहारका मानिस परिस्थिति सुधार्न सफल हुन्छ भने पश्चिम बङ्गालमा यस्तो किन हुनसक्दैन?’’

विशेष पर्यवेक्षकका अनुसार  आगामी 23 अप्रेलमा हुने तेस्रो चरणको मतदानअवधि केन्द्रिय बलका 324 कम्पनीलाई पाँचवटा लोकसभा क्षेत्रको 92 प्रतिशतभन्दा अधिक मतदान केन्द्रमा तैनाथ गरिनेछ।

23 अप्रेलमा राज्यका बालुरघाट, मालदा उत्तरी, मालदा दक्षिणी, जङ्गीपुर र मुर्शिदाबाद लोकसभा सीटमा मतदान हुनेछ।

यसैबीच चुनाउ आयोगले मालदाका पुलिस अधीक्षक अर्णब घोषलाई सरुवा गरेको छ। उनको स्थानमा अजय प्रसादलाई मालदाका पुलिस अधीक्षक बनाइएको छ।

सूत्रका अनुसार कथित रूपमा तृणमूल कङ्ग्रेस प्रशासनका नजिकमा रहेका घोषमाथि चुनाउ आयोगले दृष्टि राखेको थियो। केही दिन अघि मात्र प्रदेश भाजपाले चुनाउ आयोगसँग घोषलाई पदबाट हटाउने माग गरेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here