खरसाङ, 21 अप्रेल : सिटोङका प्रतिभाशाली युवा गीतकार, साहित्यकार सुशिल मुखियाको गीति सङ्गालो ‘शून्य’ बजारमा आएको छ।
आइतबार बड़ा सिटोङस्थित शिवशक्ति युथ क्लबको आयोजनमा सम्पन्न लोकार्पण कार्यक्रममा ‘शून्य’ सार्वजनिक गरिएको हो। लोकार्पण कार्यक्रमलाई पीबी मल्लले अध्यक्षता गरेका थिए।
लोकार्पित गीति सङ्गालो शून्यभित्र पाँचवटा गीत समावेश छन्, जसमाथि कार्यक्रममा युवा साहित्यकार पुष्कर सिङ्गरले समीक्षात्मक टिप्पणी राखेका थिए। सिङ्गरले शून्यभित्रका गीतहरूले सुशिल मुखियालाई अब दार्जीलिङका गीतकारहरूको सूचीमा स्थान दिने बताए।
मुखियाको यो एल्बमभित्र रहेका गीतहरूलाई योगेन्द्र घतानी, सलिना रामुदामु, पवन खवास, प्रणय गुरुङ, रोहित दियाली र रमेश उदासीले गाएका छन्।
कार्यक्रममा गीतकार सुशिल मुखियाले पनि आफ्नो कुरा राखेका थिए। उनले यसअवधि गीत लेखनको प्रसङ्ग उप्काउँदै आफ्ना जीवनका पीड़ा नै एलबमका गीतहरू रहेको खुलाए।
“मेरा गीतहरू मेरी आमा र म स्वयंले भोगेका पीड़ा हुन्”, उनले भने। कार्यक्रममा प्रणय गुरुङ, रोहित दियाली र आह्वान थापाले गीत प्रस्तुत गरेका थिए।
जीतेन्द्र खवास र सञ्जीव छेत्रीले पालैपालो सञ्चालन गरेको यो लोकार्पण कार्यक्रममा प्रमुख अतिथिको रूपमा रतन थापा उपस्थित थिए।