दार्जीलिङ, २३ अप्रेल : आगामी 19 मईको दिन सम्पन्न हुने दार्जीलिङ विधानसभाको उपचुनाउका लागि जनआन्दोलन पार्टी (जाप)-ले अमर लामालाई उम्मेदवार घोषणा गरेको छ। लामा जापका ब्युरो सदस्य पनि हुन्।
लामालाई उम्मेदवार घोषणा गरिएकोबारे जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै जाप प्रमुख डा. हर्कबहादुर छेत्रीले भने, “जापले ब्युरो सदस्य अमर लामालाई आगामी उपचुनाउका लागि उम्मेदवार घोषणा गरेको छ। उनी योग्य उम्मेदवार हुन्। लामाको उम्मेदवारितालाई लिएर केही दिनदेखि पार्टीभित्र चर्चा चलिरहेको थियो। सोमवार हामीले उनको नामलाई पक्कापक्की गरेपछि मङ्गलवार घोषणा गरेका हौं।”
अर्कोतिर, जाप उम्मेदवार एवं ब्युरो सदस्य अमर लामाले उपचुनाउलाई लिएर बुधवार जाप दार्जीलिङ एकाइको बैठक बस्ने र यसै बैठकमा उपचुनाउलाई लिएर विस्तृत छलफल गर्ने बताए।
“बङ्गाल विधानसभाको उपचुनाउ भइरहेकोले हाम्रो प्रमुख मुद्दा राज्य सरकारसम्बन्धित हुनेछ”, लामाले थपे, “दार्जीलिङ पहाड़का चियाकमान र सिन्कोना बगानहरूका मानिसहरूको जमिनको मालिकाना हक, चियाश्रमिकहरूको न्यूनतम रोज, पहाड़मा पञ्चायत चुनाउ र वनाधिकार कानून 2006 दार्जीलिङ पहाड़मा लागू नै हाम्रो प्रमुख मुद्दा हुनेछन्।”
उनका अनुसार नामाङ्कन पत्र बुझाउने दिनको निर्णय पनि भोलिको बैठकले नै निधो गर्नेछ।