बङ्गालका पाँच सीटमा बम्पर भोटिङ, कङ्ग्रेस-तृणमूलको झड़पमा एकको मृत्यु

0
1096
मतदान गर्न पङ्क्तिबद्ध मतदाताहरू (फोटो साभार-इन्टरनेट)

कोलकाता, २३ अप्रेल : बङ्गालमा बम्पर भोटिङको क्रम जारी छ। पहिलो र दोस्रो चरणमा झैं मङ्गलबार राज्यमा भएको तेस्रो चरणको मतदानअन्तर्गत पाँच लोकसभा सीटमा पनि बम्पर भोटिङ भयो।

आज राज्यका मुर्शिदाबाद, जङ्गीपुर, बालुरघाट,  मालदा उत्तर र मालदा दक्षिणमा मतदान भएको थियो। बेलुकी पाँच बजेसम्म ७८.९७ प्रतिशत मतदान रेकर्ड गरिएको छ।

उल्लेखनीय छ, पहिलो चरणको दुई सीटमा ८३.७९ र दोस्रो चरणको तीन सीटमा ८१.६८ प्रतिशत मतदान भएको थियो। यद्यपि यी दुई चरणको मतदानमा एकैजना मतदाताले पनि चुनावी हिंसामा आफ्नो ज्यान गुमाएका थिएनन्, तर आज तेस्रो चरणको मतदानअन्तर्गत मुर्शिदाबाद जिल्लामा तृणमूल कङ्ग्रेस र कङ्ग्रेसबीच भएको झड़पमा एक मतदाताको मृत्यु भएको छ। मतादान गर्न लाइनमा खड़ा भएका वृद्ध पियारुल अबुल कलामको यो झड़पमा मृत्यु भएको हो।

यसका साथै आज पाँच संससदीय सीटका बेग्ला बेग्लै स्थानमा भएको हिंसात्मक झड़पमा तीन महिलासमेत एक दर्जनभन्दा अधिक मतदाता घाइते भएका छन्।

मुर्शिदाबादको रानीनगरमा बमबारी भयो। साथै मतदाताहरूमा डर देखाउनका लागि बदमाशहरूले हावामा फाइरिङ गरे। कङ्ग्रेसले तृणमूलमाथि बमबारी र गोली चलाएको तथा आफ्ना कार्यकर्ताहरूमाथि हमला गरेको आरोप लगाएको छ।

अर्कोतिर तृणमूलले कङ्ग्रेसको आरोपलाई खण्डन गर्दै उल्टै कङ्ग्रेसले यस्तो कार्य गरेको आरोप लगाएको छ। आज बिहान तेस्रो चरणको मतदान शान्तिपूर्ण शुरु भएको थियो, तर जसै जसै दिन छिपिँदै गयो, हिंसाका घटनाहरू प्रकाशमा आउन थाल्यो।

बाक्लो र कठोर सुरक्षा व्यवस्था गरिए तापनि तीनवटा जिल्लाका पाँचैवटा सीटमा सान-ठूला हिंसाका घटनाहरू घटे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here