जाति र माटो बेच्ने विनय तामाङलाई पराजित गरी उसको घमण्डलाई चकनाचुर पारौं : विमल

0
1297
विमल गुरुङ (फाइल फोटो)।

दार्जीलिङ, 24 अप्रेल : आउँदो 19 मईको दिन सम्पन्न हुने दार्जीलिङ विधानसभाको उपचुनाउका लागि दार्जीलिङ पहाड़का मानिसहरूलाई एकजुट हुने आह्वान गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) प्रमुख विमल गुरुङले गरेका छन्।

बुधबार बिहान एक अडियो क्लिप जारी गरी ‘जाति र माटो बेच्ने, शहीदको रगत बेचेर राजनीति गर्ने विनय तामाङलाई पराजित गर्न’ दार्जीलिङ पहाड़वासीलाई एकजुट हुने आह्वान गरेका हुन्।’

अडियोमा उनले भनेका छन्, ‘भर्खरै लोकसभा चुनाउमा हामीले 22 महिनाको दुःख पीर र अन्याय-अत्याचारको जवाफ दिएका छौं। सबै सबै पीड़ित जनताले जवाफ दिएका छन्। अब फेरि दार्जीलिङ विधानसभा क्षेत्रमा उपचुनाउ हुन गइरहेको छ। यसको उचित जवाफ पनि हामीले दिनपर्छ।’

उनले थप भनेका छन्, ‘जुन व्यक्तिले जातिलाई बेचेर राजनीति गरे। जातिलाई चकनाचुर पार्ने राजनीति गरे। हाम्रा 13 जना शहीदको रगत बेचेर राजनीति गरे, त्यस्तो व्यक्ति आज चुनाउ लड़्न अघि आएका छन्। यस्ता व्यक्तिलाई पराजित गर्ने समय पाएका छौं। यो समयलाई हामीले खेरो नफालौं।’

विनय तामाङ र उनका सहयोगीले बोलेका शब्द र गरेका कार्यहरूलाई नभुलिकन, ती शब्द र कामको उचित जवाफ दिने समय आएको बताउँदै यसका लागि गुरुङले जनतालाई थप आह्वान गरेका छन्। ‘जुन व्यक्तिले हाम्री आमालाई बेच्ने कार्य गरे। जुन व्यक्तिले 13-13 जना शहीदको रगत बेच्ने कार्य गरे। जुन व्यक्तिको कारण हाम्रो घरहरू कुड्की गरेर नानीहरूको लिटो र स्कूल युनिफर्मसमेत पुलिसले लैजाने काम गऱ्यो, त्यस्तो व्यक्ति चुनावी मैदानमा उत्रिएका छन्’, गुरुङले थप भनेका छन्, ‘यस्तो व्यक्तिलाई सपनालाई चकनाचुर पार्न हामीले पाएको समयलाई खेरो फाल्न हुँदैन। यो कुरा मन मनमा राखौं, हृदय हृदयमा राखौं। जुन प्रकारको अन्याय-अत्याचार र पीर व्याथा सहेका छौं, त्यसको जवाफ भोटमार्फत दिनुपर्छ। आगामी लोकसभा चुनाउमा विनय तामाङलाई भारी मतले हराएर उसको घमण्डलाई चकनाचुर पारौं। जाति मास्ने नीतिलाई चकनाचुर पारौं। मेरो तपाईं सबैलाई आह्वान छ।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here