कोलकाता, 24 अप्रेल : लोकसभा चुनाउमा प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीबीच वाकयुद्ध र राजनीतिक लड़ाइँ चरममा छ। दुवै एकार्काका धुरविरोधी मानिन्छ, यद्यपि अभिनेता अक्षय कुमारसँगको अन्तरङ्ग कुराकानीमा मोदीले ममताद्वारा प्रतिवर्ष पठाइने उपहार सम्बन्धमा खुलासा गरेपछि बङ्गालको राजनीतिमा बेग्लै छाल उठेको छ।
उपहारसम्बन्धित बयानले राजनीतिक बयानबाजी तीव्र भएको छ।
उल्लेखनीय छ, प्रधानमन्त्रीले अभिनेता अक्षय कुमारलाई दिएको इन्टरभ्युमा उनलाई ममता स्वयंले प्रतिवर्ष कुर्ता पठाउने गरेको र उक्त कुर्ता ममताकै रोजाइको हुनेगरेको खुलासा गरेका थिए।
यसका साथै बङ्ग्लादेशकी प्रधानमन्त्रीले उनलाई वर्षमा दुई-तीनपटक बङ्गाली स्वादको मिठाई पठाउने गरेको पनि बताएका थिए। मोदीका अनुसार ममताले यो कुरा थाहा पाएपछि उनले वर्षमा दुई-तीनपटक मिठाई पनि पठाउने गर्छिन्।
प्रधानमन्त्री मोदीको यस्तो बयानविरुद्ध तीखो प्रतिक्रिया व्यक्त गर्दै मुख्यमन्त्रीले भनिन्, ‘मकहाँ जो पनि आउँछन्, उसलाई म चिया पिलाउँछु। मिठाई खुवाउँछु। यो हाम्रो परम्परा हो। चिया पिलाउनेछौं, मिठाई खुवाउनेछौं, तर एउटै पनि भोट दिनेछैनौं।
अर्कोतिर, माकपाका राज्य सचिव डा. सूर्यकान्त मिश्राले पनि प्रधानमन्त्रीको बयानमाथि प्रतिक्रिया व्यक्त गरेका छन्।
उनले भनेका छन्, ‘प्रधानमन्त्रीले जानीजानी या अनजानमा नै ममताद्वारा मिठाई र कुर्ता उपहार पठाउने कुरा गरेका हुन्, तर यसले मोदी-ममता दुवै एकै रहेको र दुईबीच मिलिभगत रहेको स्पष्ट भएको छ।’