गोर्खा लीग भारती तामाङ गुटले उपचुनाउमा भाग लिने, विप्लव राई उम्मेदवार

0
1166
गोर्खा लीग भारती गुटका उम्मेदवार विप्लव राई (फोटो साभार – प्रतिविम्ब)

दार्जीलिङ, २४ अप्रेल : अखिल भारतीय गोर्खा लीग भारती तामाङ गुटले आगामी उपचुनाउका लागि विप्लव राईलाई उम्मेदवार खड़ा गरेको छ। उम्मेदवार राई गोर्खा लीग भारती गुटका महासचिव पनि हुन्।

बुधबार प्रेस गिल्ड दार्जीलिङमा एक पत्रकार सम्मेलन आयोजन गरी पार्टी उपाध्यक्ष लक्ष्मण प्रधानले यसबारे जानकारी गराए। उनका अनुसार आज पार्टी अध्यक्ष भारती तामाङको अध्यक्षतामा एक सभा बसिएको थियो, जसमा आगामी उपचुनाउबारे चर्चा परिचर्चा गरी विप्लव राईलाई उम्मेदवार बनाइने निर्णय गऱ्यो।

उनले भने, “दार्जीलिङ लोकसभा आसनका लागि भएको चुनाउमा गोर्खालीग मौन बसेको थियो, तर दार्जीलिङ विधानसभा आसनको उपचुनाउमा पार्टीले अंशग्रहण गर्ने निर्णय लिएको छ। यसैले गोर्खा लीगले पार्टी महासचिव विप्लव राईलाई आउँदो उपचुनाउका लागि उम्मेदवार घोषणा गरेको छ।”

प्रधानले दार्जीलिङबाट आजसम्म निर्वाचित भएर जाने विधायकबाट पहाड़ले कुनै पनि उपलब्धि नपाएको तथा अहिले दार्जीलिङको राजनीतिक स्थिति डाँवाडोल भएको पहाड़वासीले महसुस गरिरहेको पनि बताए। उनले आगामी दुई-तीन दिनभित्र   पार्टी उम्मेदवार विप्लव राईले नामाङ्क-पत्र बुझाउने जानकारी गराए।

उल्लेखनीय छ, पछिल्लो गोर्खाल्याण्ड आन्दोलनपछि गोर्खा लीग दुई गुटमा विभाजित भएको छ। एक गुटलाई प्रताप खाती र अर्को गुटलाई भारती तामाङले नेतृत्व गरिरहेका छन्। भारती तामाङसँग लक्ष्ण प्रधानहरू र प्रताप खातीसँग एसके प्रधानहरू छन्।

गोर्खा लीग प्रताप खाती गुटले पछिल्लो लोकसभा चुनाउमा तृणमूल कङ्ग्रेसविरुद्ध भाजपालाई समर्थन जनाएको थियो भने गोर्खा लीग भारती गुटले भने लोकसभा चुनाउमा मौन बसेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here