दार्जीलिङ, २५ अप्रेल : दार्जीलिङ विधानसभाको उपचुनाउमा विमल गुरुङपन्थी गोजमुमो र विनय तामाङपन्थी गोजमुमोका उम्मेदवारले गोजमुमो पार्टीको नाममा चुनाउ लड़्न पाउनेछैनन्।
बुधबार कोलकाता उच्च न्यायालयको जलपाइगढ़ी सर्किट बेञ्चले यस्तो आदेश सुनाएको हो। आगामी १९ मईको दिन सम्पन्न हुने उपचुनाउमा विमल गुरुङपन्थी गोजमुमो र विनय तामाङपन्थी गोजमुमोले निर्दलीय उम्मेदवार दिनुपर्ने तथा गोजमुमो पार्टीको नाममा यो चुनाउ लड़्न नपाउने आदेश दिएको विमल गुरुङपन्थी गोजमुमोका महासचिव रोशन गिरीले बताएका छन्।
गिरीले एक प्रेस विज्ञप्तिमा जानकारी गराएअनुसार भारतको चुनाउ आयोगमा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष, सचिव एवं अन्य पदाधिकारीहरूमा आफूहरूको नाम दर्ता गरियोस् भनि विनय तामाङ खेमा गोजमुमोका महासचिव अनित थापाले उच्च न्यायालयमा एउटा रिट दर्ता गरेका थियो। यो मामिलामा अदालतको एकल खण्जपीठले रोशन गिरीको काउन्सिललगायत दुवै पक्षको तर्क सुनेर भारतको चुनाउ आयोगलाई दुवै पक्षको कुरा सुनी निर्णय दिने निर्देश जारी गरेको थियो।
उनले थप बताएअनुसार यो मामिलाको सुनवाइ बुधबार जलपाइगढ़ीस्थित डिभिजन बेञ्चले गरेको हो। गिरीले जनाएअनुसार बेञ्चले चुनाउ आयोग र गोजमुमोका दुवै पक्षको कुरा सुनेर दार्जीलिङ विधानसभा चुनाउको उपचुनाउको नोटिस जारी भइसकेकोले अनि २९ अप्रेलभित्र नामाङ्कन-पत्र बुझाउनुपर्ने भएकोले गोजमुमो पार्टीको नाममा यो चुनाउ दुवै पक्षले लड़न नपाउने आदेश दिएको छ। यद्यपि दुवै पक्षका निर्दलीय उम्मेदवारलाई उनीहरूको दलीय पक्षले सघाउन सक्ने आदेश सुनाएको पनि विमल गुरुङपन्थी गोजमुमोका महासचिव रोशन गिरीले बताएका छन्।