हुगली, २५ अप्रेल : लोकसभा चुनाउमा आफ्नो पार्टीले सबै ४२ सीटमै जीत दर्ता गर्ने राज्यकी मुख्यमन्त्री एवं तृणमूल कङ्ग्रेस सुप्रिमो ममता ब्यानर्जीले दाबी गरेकी छन्। बुधबार उनले हुगलीमा एक चुनावी जनसभालाई सम्बोधन गर्दै यस्तो दाबी गरेकी हुन्।
भाजपा र मोदीप्रति आक्रामक देखिएकी ममताले प्रधानमन्त्रीमाथि नोटबन्दीको माध्यमबाट ठूलो परिणाममा कालो धनलाई सेतो बनाएको आरोप पनि लगाइन्।
“अहिले यही पैसा भाजपाले भोट किन्नका लागि प्रयोग गर्दैछ”, उनले गम्भीर आरोप लगाइन्, “भाजपाले आफ्नो पक्षमा भोट सुनिश्चित गर्नका लागि बन्दुक र गुण्डाको आयात गरिरहेको छ।’’
उनले थप भनिन्, “पश्चिम बङ्गालमा हामी यस्तो स्थिति सिर्जना गर्ने अनुमति दिनेछैनौं।” उनका अनुसार मोदीले कालो धनलाई सेतो बनाउनका लागि जबर्जस्ती मानिसहरूमाथि नोटबन्दी थोपेको र उक्त पैसालाई चुनाउको समयमा मानिसहरूको भोट किन्नका लागि खर्चिरहेको पनि ठोकुवा गरिन्।
“हामी चुनाउपछि मोदीलाई उखेलेर फ्याँक्नेछौं। हाम्रो सरकारले नोटबन्दीमा कति घोटाला भएको थियो, त्यो साबित गर्नेछ।” भाजपाले वातावरण तनाउपूर्ण बनाइ आतङ्क फैलाउनका लागि हतियार बोकेर जुलूस निकालिरहेको पनि थप आरोप लगाइन्।