बुधवार सभा गर्दै कला सङ्म मञ्चका सदस्यहरू। |
दीक्षा मोक्तान/विशन छेत्री
दार्जीलिङ, 22 अगस्त : दार्जीलिङका केही उत्साहित युवाहरूद्वारा गठित कला सङ्गम मञ्चले आगामी 30 सेप्टेम्बरको दिन अन्तरविद्यालय कविता प्रतियोगिता आयोजन गर्ने निधो गरेको छ। पछिल्ला दुई वर्षदेखि सामान्य लाग्ने कार्यक्रमलाई तर असामान्य प्रकारले फरक शैलीका साथ गर्दै आएको कला सङ्गम मञ्चले यसपटक विद्यार्थीमुखी कार्यक्रम गर्ने सोच बनाएको हो।
बुधवार मञ्चका कोषाध्यक्ष योगिता राई निवासमा बसिएको सभामा यसपटक मञ्चलाई विद्यार्थीमुखी कार्यक्रममा केन्द्रित गर्ने लिएको निर्णयअनुसार अन्तरविद्यालय कविता प्रतियोगिता आयोजन गर्ने विषयमा मञ्चका सबै सदस्यले सहमति जनाउँदै मोहर लगाएका हुन्। सभामा लिइएको निर्णयअनुसार यो प्रतियोगिता स्थानीय साउथफिल्ड कलेजको प्रेक्षागृहमा आयोजन गरिनेछ। मञ्चका सदस्यहरूले यसलाई दार्जीलिङ महकुमाका सबैजसो विद्यालयलाई समेट्ने प्रयास गरिरहेको छ।
मञ्चका सदस्यहरूका अनुसार निर्णायक मण्डलीको निर्णयअनुसार शीर्ष 15 प्रतियोगीलाई छनौट गरिनेछ, जसमा पहिलो भएका प्रतियोगी विद्यार्थीहरूलाई पारितोषिकको रूपमा रु. पाँचहजार, दोस्रोलाई तीनहजार र तेस्रो भएका प्रतियोगी दुई हजार दिइनेछ। शीर्ष 15 भित्र परेका अन्यलाई प्रमाण–पत्र दिइने पनि मञ्चले बताएको छ। विद्यार्थीहरूमा साहित्यिक अभिरुचि बढ़ाउन र उनीहरूलाई भविष्यका उम्दा कवि खोज्ने उद्देश्य र लक्ष्य कला सङ्गम मञ्च दार्जीलिङको छ। मञ्चले यो प्रतियोगिता वरिष्ठ साहित्यकार स्व. वीरेन्द्र सुब्बामा समर्पित गरेको छ। सुब्बाको साहित्यिक योगदान र कृतिको मूल्याङ्कन ओझेलमा नरहोस् भन्ने चाहन्छ।
स्मरणरहोस्, साहित्यमा अग्घोरै रुचि राख्ने नवोदित साहित्यहरूको उत्साह र जाँगरमा प्रायः दुईवर्ष अघि गठन भएको यो कला सङ्गम मञ्चले दार्जीलिङ–कालेबुङका कविहरूलाई लिएर दुईपटक टिकटमा कविता कार्यक्रम आयोजन गरिसकेको छ। यी दुवै कार्यक्रममा मञ्चले ती कविहरूलाई कविता वाचन गर्ने यथेष्ट समय मात्र दिने कार्य गरेन, तर उचित पारिश्रमिक पनि दिइने कार्य गरेको थियो।