खरसाङ, 25 अप्रेल : बङ्गाल सरकारले जीटीए एड्मिनिस्ट्रेशन अथोरिटीका अध्यक्ष पदमा अनित थापालाई नियुक्त गरेको छ। थापा यसअघि जीटीएका उपाध्यक्षको पदमा थिए।
बिहीवार बङ्गाल सरकारको गृह एवं पार्वत्य मामिलाका मुख्य सचिव अत्री भट्टाचार्यले आदेश सङ्ख्या 624/HS/PA/19 जारी गरी अनित थापालाई जीटीए अथोरिटीका अध्यक्ष नियुक्ति गरिएको जानकारी गराएका छन्। उल्लेखनीय छ, आउँदो 19 मईको दिन सम्पन्न हुने दार्जीलिङ विधानसभाको चुनाउमा खड़ा भएका विनय तामाङले जीटीएको केयरटेकिङ अथोरिटीको पदबाट राजीनामा दिएपछि थापालाई यो पदमा नियुक्त गरिएको थप बताइएको छ।
आदेशका अनुसार 24 अप्रेलको दिन विनय तामाङले उक्त पदबाट राजीनामा दिएका थिए भने तामाङको राजीनामालाई राज्यका राज्यपालले स्वीकार गरेका छन्।
आदेशका अनुसार अघिल्लो आदेश जारी नभएसम्म अनित थापा उक्त पदमा रहनेछन् भने आजैदेखि यो आदेश लागू भएको छ।