दार्जीलिङ, 25 अप्रेलः दार्जीलिङ विधानसभा उप-चुनाउका लागि क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले अन्तिमसम्म सहमतीय उम्मेदवारको पक्षमा प्रयास गर्ने बताएको छ।
हालै लोकसभामा भएको गठबन्धनलाई नै निरन्तरता दिने अनि नामाङ्कनको अन्तिम समयसम्म त्यो प्रयास जारी राख्ने क्रामाकपा नेता किशोर प्रधानले जनाएका छन्।
क्रामाकपाले हालै सम्पन्न लोकसभा चुनाउमा नामाङ्कन भरेर पनि अन्तिम क्षणमा भाजपा उम्मेदवार राजु विष्टलाई समर्थन जनाएको थियो, जसलाई गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) विमलपन्थी र गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले समर्थन जनाएको थियो।
“आगामी 19 मईमा हुने दार्जीलिङ विधानसभा समष्टिको उप-चुनाउ सीटका लागि पनि हामी पछिल्लो गठबन्धन नै जारी राख्न चाहन्छौं। अन्य राजनीतिक पार्टीहरूसँग पनि छलफल गर्नेछौं, जो पछिल्लो गठबन्धनमा सम्मिलित थिए। आगामी दुई-तीन दिनमा हामी सबैसँग कुराकानी गरेर चूड़ान्त निर्णय लिनेछौं”, क्रामाकपा नेता किशोर प्रधानले भने।
एक्लै चुनाउ नलड़ेर संयुक्त उम्मेदवार उठाउने प्रयास जारी राख्ने उनले बताए।
“स्थानीय मुद्दा उठान गर्नका लागि स्थानीय उम्मेदवारलाई उठाउन जरुरी छ। तर, हामी राज्य र राष्ट्रिय स्तरको पार्टीबाट पनि सहयोगको अपेक्षा राख्दछौं। हाम्रो मुद्दा दिल्लीमा पुगोस् भनेर लोकसभामा हामीले राष्ट्रिय पार्टीलाई समर्थन गर्यौं। तर, राज्यसभामा स्थानीय मुद्दाहरू उठान गर्नु पर्ने हुनाले उनीहरूले स्थानीय उम्मेदवारलाई सघाउनुपर्छ’’, प्रधानले थपे, ‘‘हामी सहमतीय उम्मेदवार खोज्ने प्रयास गर्नेछौं अनि अन्य पार्टीसँग सर-सल्लाह गरेर एकजनाको नामाङ्कन बुझाउने प्रयास गर्नेछौं। नामाङ्कन बुझाउने अन्तिम मिति 29 मईसम्म हामी यो प्रयास जारी राख्नेछौं, किनभने हामीले यसपालि जित्नुपर्छ।”
लोकसभामा आफूहरूले भाजपालाई समर्थन गरेकोले उप-चुनाउमा भाजपाले कुनै उम्मेदवार उठाउन नहुने उनको तर्क थियो।
अर्कोतिर, क्रामाकपाका प्रवक्ता गोविन छेत्रीले जनाएअनुसार यदि साझा सहमतीय उम्मेदवार तय हुन नसके क्रामाकपाले आफ्नै उम्मेदवार उठाउनेछ। “हामी अन्तिमसम्म प्रयास गर्नेछौं। यदि साझा उम्मेदवारमा सहमति बन्न नसके हामी आफ्नै उम्मेदवार खड़ा गर्नेछौं”, छेत्रीले जनसंवादसँग कुराकानी गर्दै भने।