स्वतन्त्र उम्मेदवारको रूपमा विनयले बुझाए नामाङ्कन : नामाङ्कन बुझाउनअघि गोजमुमो-तृणमूलद्वारा ऱ्याली आयोजन

0
1252
विनय तामाङले नामाङ्कन बुझाउनअघि गोजमुमो (विनय गुट) र तृणमूल कङ्ग्रेसले निकालेको ऱ्य़ाली।

दार्जीलिङ, २६ अप्रेल : आगामी १९ मईको दिन सम्पन्न हुने दार्जीलिङ विधानसभाको उपचुनाउका लागि शुक्रबार विनय तामाङले स्वतन्त्र उम्मेदवारको नामाङ्कन पत्र बुझाए।

तामाङले नामाङ्कन-पत्र बुझाउनअघि स्थानीय दार्जीलिङ रेलवे स्टेशनबाट विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) र तृणमूल कङ्ग्रेसका समर्थकहरूले जिल्लापाल कार्यालयसम्म ऱ्याली पनि निकालेका थिए।

ऱ्यालीमा जीटीएका नवनियुक्त बीओए अध्यक्ष एवं विनयपन्थी गोजमुमोका महासचिव अनित थापा, हिल तृणमूल अध्यक्ष एलबी राई र राज्यसभा सांसद शान्ता छेत्री तथा दुवै पार्टीका अन्य पदाधिकारीहरू पनि उपस्थित थिए।  

यो ऱ्याली जिल्लापाल कार्यालय पुगेपछि तामाङले दार्जीलिङ महकुमा अधिकारी एवं रिटर्निङ अफिसर कौशिक सिन्हालाई आफ्नो नामाङ्कन-पत्र बुझाएका हुन्।

नामाङ्कन-पत्र बुझाएपछि पत्रकारहरूलाई सम्बोधन गर्दै उनले भने, केही दिनअघि लोकसभा चुनाउ भयो। अब दार्जीलिङ विधानसभाको उपचुनाउ हुँदैछ। लोकसभा चुनाउमा हाम्रा उम्मेदवार अमरसिंह राईले जित्नेछन्। र विधानसभाको उपचुनाउको म एक उम्मेदवार भएकोले आफ्नो जीतप्रति आशावादी छु। आगामी २३ मईको दिन पहाड़वासीले दुई-दुईवटा उपहार पाउनेछन्।

उनले आफू १७ महिना जीटीएको बोर्ड अव् एड्मिनिस्टेटर भएर बस्दा पहाड़का थुप्रै समस्या देखेको र त्यसमध्ये आधाजस्तो समस्याको समाधान गरेको बताए।

रहल समस्याहरू अझै थुप्रै छन्, जस्तो पर्जापट्टाको समस्या छ। त्यस्तै डीआई फण्ड र वनवासीहरूको समस्या पनि छन्। यी समस्याहरू पश्चिम बङ्गालको भूमि एवं भूमि सुधार विभागको अधीनमा पर्ने हुनाले मैले यी कुराहरू माथि पुऱ्याएको कारण रिभ्यु कमिटी र एक्सपर्ट कमिटी बनिसेकको छ, विनयले थपे, रिभ्यु कमिटीका सदस्य म आफै पनि हुँ। तथापि मैले अगावै वचन जनतालाई पर्जापट्टाको समस्याको समाधान २०२० भित्र गरिदिन्छु भन्ने वचन दिइसकेको छु। र आज जीटीएको पदमा बसेर म यसबारे जति काम गर्नसक्छु , त्योभन्दा धेरै काम कोलकातामा बसेर गर्नसक्छु। यी समस्याहरूको छिनोफानो गर्न सजिलो हुन्छ। यसैले पहाड़का विभिन्न समस्यालाई समाधान गर्न म आज विधानसभा चुनाउमा खड़ा भएको हुँ।

उनले आफ्नो पार्टी र हिल तृणमूलको माग गरेपछि नै उपचुनाउमा खड़ा हुने निर्णय गरेको पनि खुलाए। तामाङले आफ्नो चुनावी मुद्दा चियाकमान, सिन्कोनाबगान, डीआई फण्ड र डेवलपमेन्ट एरिया, नगरपालिकाको लिजल्याण्ड तथा वनबस्तीमा बस्ने मानिसहरूलाई उनीहरू बस्दै आएको जमिनको मालिकाना हक दिलाउनु आफ्नो पहिलो कर्तव्य रहेको पनि बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here