नीरज जिम्बा साझा सहमतिका उम्मेदवार : भाजपाको चुनाउ चिह्नमा लड़्ने

0
1302
पत्रकार सम्मेलनमा अजय एडवर्ड, लोप्साङ लामा, नीरज जिम्बा र बीपी बजगाईं।

सिलगढ़ी, 26 अप्रेल : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) –का प्रवक्ता नीरज जिम्बा साझा सहमतिका उम्मेदवार बनेका छन्। शुक्रबार विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो), गोरामुमो, भारतीय जनता पार्टी (भाजपा) र सुमेटि मोर्चा जिम्बाको उम्मेदवारितामा  सहमत भएका हुन्।

शुक्रबार सिलगढ़ीको जर्नलिस्ट क्लबमा एक पत्रकार सम्मेलन आयोजन गरी दार्जीलिङ विधानसभाको उपचुनाउका लागि साझा उम्मेदवारको रूपमा नीरज जिम्बालाई खड़ा गरिएको घोषणा विमलपन्थी गोजमुमोका कार्यकारी अध्यक्ष डा. लोप्साङ लामाले घोषणा गरे।

जानकारीका अनुसार जिम्बाले भाजपाको चुनाउ चिह्नमा चुनाउ लड़्नेछन्। पत्रकारहरूलाई सम्बोधन गर्दै गोजमुमो प्रवक्ता बीपी बजगाईंले भने, नीरज जिम्बालाई हामीले हाम्रो साझा सहमतिका उम्मेदवार चयन गरेका छौं। उनको राजनीतिक ज्ञान र योगदानलाई हेरेर हामीले यस्तो निर्णय गरेका हौं। उनको नामलाई फाइनल सहमतिका लागि भाजपा हेडक्वार्टर पठाएका छौं। उनी भाजपाका उम्मेदवार भएकोले भाजपाको फाइनल सहमति आवश्यक पर्नेछ।

यसअवधि उनले विमल गुरुङपन्थी गोजमुमो, गोरामुमो र अन्य दलहरूको गठबन्धनले दार्जीलिङ पहाड़वासीको मनमा विश्वास बढ़ेको पनि बताए।

पत्रकार सम्मेलनलाई उम्मेदवार नीरज जिम्बाले पनि सम्बोधन गरे। उनले आगामी उपचुनाउमा आफ्नो जीत निश्चित रहेको र ठूलो मतान्तरले विजयी बन्ने दाबी गरे। साथै उनले आफूलाई विधानसभाका उम्मेदवारको रूपमा योग्य ठानेको गठबन्धनका सबै दलप्रति आभार प्रकट गरे।

एक प्रश्नको उत्तरमा उनले दार्जीलिङको समस्याको स्थायी राजनीतिक समाधानको मुद्दा प्रमुख रहेकोले बताए। र उनीहरूले यसबारे वार्ताको प्रतीक्षा गरिरहेको पनि बताए। यो मुद्दासँगै दार्जीलिङमा गणतन्त्रको पुनर्बहाली आदि मुद्दा प्रमुख रहने खुलाए।

विनय तामाङसँग पुलिस छ। हामीसँग जनता छन्’, एक प्रश्नको उत्तरमा जिम्बाले थपे, विनय तामाङलाई जित्नु मात्र कुरा होइन। विनयलाई त गोरामुमो एकलैले हराउनेछ, तर उसको पछि राज्य सरकारको जुन शक्ति छ, त्यसलाई हराउनका लागि हामी पनि एकबद्ध हुनुपर्छ।

अर्कोतिर जिम्बालाई प्रताप खाती गुट अखिल भारतीय गोर्खा लीगले पनि समर्थन जनाएको छ। जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै प्रताप खातीले भने, गोर्खा लीगले नीरज जिम्बालाई समर्थन जनाउँदछ। उनी योग्य उम्मेदवार हुन्। हामी गठबन्धनमा छौं र गठबन्धमाथि विश्वास गर्छौं।

यसैबीच पछिल्लो लोकसभा चुनाउमा उल्लिखित दलहरूसँगै रहेको क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा) -ले आगामी 28 अप्रेलको दिन एक बैठक बसेर आफ्नो अड़ान स्पष्ट पार्ने यसका नेता अरुण घतानीले बताएका छन्।

जानकारीका अनुसार जिम्बाले आगामी 29 अप्रेलको दिन नामाङ्कन पत्र बुझाउनेछन्। 29 अप्रेल नामाङ्कन बुझाउने अन्तिम दिन पनि हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here