क्रामाकपाले भाजपा उम्मेदवार जिम्बालाई समर्थन नगर्ने : किशोर प्रधानले भने –क्षेत्रीय राजनीतिमा राष्ट्रिय पार्टी मिलाउनु हुँदैन

0
1340
क्रामाकपा चुनाउ कमिटीका संय़ोजक किशोर प्रधान (फाइल फोटो)।

कालेबुङ, 26 अप्रेल : पछिल्लो गठबन्धनमा भाजपा उम्मेदवार राजु विष्टलाई समर्थन जनाए तापनि यसपटक क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले भाजपाकै चुनाउ चिन्हमा दार्जीलिङ विधानसभाको उपचुनाउमा उठिरहेका नीरज जिम्बालाई समर्थन नगर्ने घोषणा गरेको छ।

क्षेत्रीय राजनीतिमा राष्ट्रिय पार्टी मिलाउन नहुने अड़ान क्रामाकपाले भाजपा उम्मेदवार जिम्बालाई समर्थन नगर्ने निर्णय लिएको किशोर प्रधानले बताएका छन्। प्रधान क्रामाकपा चुनाउ कमिटीका संयोजक हुन्।

शुक्रबार जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै भने, क्षेत्रीय राजनीतिका लागि क्षेत्रीय पार्टीकै प्रतिनिधित्व हुनुपर्छ भन्ने क्रामाकपाको अड़ान छ। हामीले हाम्रो अड़ान अन्य दलहरूसँग स्पष्ट राखिसकेका थियौं। यदि क्षेत्रीय राजनीति राष्ट्रिय पार्टीको हातमा गए क्षेत्रीय मुद्दाहरू गौण बनिन्छ। यसो हुनु राम्रो होइन।

उनले थपे,  शुरुदेखि अहिलेसम्म दार्जीलिङमा गोर्खाल्याण्डको मुद्दा उठाउने क्षेत्रीय पार्टीहरू नै हुन्। गोर्खाल्याण्डको मुद्दा न त कङ्ग्रेस, न त भाजपा र माकपाले उठाएको हो। न त अन्य क्षेत्रीय दलहरूले उठाउनेछ भोलिको दिनमा। अहिले पनि यो मुद्दालाई क्षेत्रीय दलहरूले नै उठाइरहेका छन्। भोलिको दिनमा पनि क्षेत्रीय पार्टीहरूले नै उठाइरहेको हुनेछ। राष्ट्रिय पार्टीहरूले उल्टो हाम्रो यो मुद्दालाई दबाउने काम गर्छन्।

अर्कोतिर प्रधानले गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले झूटो बोलेर धोका दिएको बताए। आज हामीलाई दार्जीलिङमा सर्वदलीय बैठक छ भनेर गोरामुमो पार्टीबाट निम्ताइएको थियो। गोरामुमो नेता अजय एडवर्डमार्फत् हामीले पत्र पाएका हौं, तर बैठकमा जाँदा न त अजय एडवर्ड थिए, न त नीरज जिम्बा नै थिए।

उनका अनुसार पछिल्लो लोकसभा चुनाउमा पनि गोरामुमोले यसैगरी धोका दिएको थियो। त्यसबेला पनि सिलगढ़ीमा सर्वदलीय बैठक डाकेर भाजपालाई समर्थन गर्ने गोरामुमो नेताहरू दिल्लीतिर गएको उनको भनाइ छ।

गोरामुमोले आज पनि पुरानै धोका दोहोऱ्याएको छ।हाम्रो विरोध नीरज जिम्बालाई होइन, तर भाजपाका उम्मेदवारलाई हो। किनभने हामी क्षेत्रीय राजनीतिमा क्षेत्रीय पार्टीकै प्रतिनिधि चाहन्छौं, उनले भने।

प्रधानले विमल गुरुङपन्थी गोर्खा जनमुक्ति युवा मोर्चाको फेसबुक पोस्टमा भाजपा उम्मेदवार नीरज जिम्बाको उम्मेदवारितामा क्रामाकपाले पनि सहमति दिएको र समर्थन गरेको छ भनी पोस्ट हालेको पनि आपत्ति जनाउँदै क्रामाकपाले भाजपा उम्मेदवारलाई विधानसभा चुनाउमा समर्थन नगर्ने स्पष्ट पारे। साथै यस्ता पोस्ट हालेर जनतामा भ्रम नफैलाउने सुझाए।

यसका साथै आउँदो 28 क्रामाकपाले बैठक गरेर चुनावी अड़ान स्पष्ट पार्ने पनि प्रधानले जानकारी गराए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here