उपचुनाउलाई लिएर गोरामुमोको सभा, जीटीएको आयु २३ मईसम्म मात्र हो : सन्दीप लिम्बू

0
1214
शनिबार पार्टी मुख्यालयमा सम्पन्न गोरामुमोको सभा।

दार्जीलिङ, २७ अप्रेल : शनिबार आउँदो उपचुनाउलाई लिएर गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-को सभा बसियो।

स्थानीय पार्टी मुख्यालयमा बसिएको सभामा पार्टीका केन्द्रिय नेताहरू क्रमैले अजय एडवर्ड, महेन्द्र छेत्री, किशोर गुरुङ, निमा लामा, एमजे सुब्बा, प्रवीण जिम्बा, वीरेन लामा तथा श्रमिक सङ्गठन हिमालयन प्लाण्टेशन लेबर युनियन (एचपीडब्ल्यूयू)-का केन्द्रिय अध्यक्ष जेबी तामाङलगायत पार्टीका भातृ सङ्गठनहरू गोरायुमो र गोरानास तथा दार्जीलिङ शाखाका १३ वटै समष्टिका पदाधिकारीहरू सभामा उपस्थित रहेको बताइएको छ।

दार्जीलिङ ब्राञ्च कमिटीका प्रवक्ता सन्दीप लिम्बूले जानकारी गराएअनुसार सभामा आउँदो उपचुनाउलाई लिएर विस्तृत चर्चा परिचर्चा गरिएको थियो। साथै भाजपा उम्मेदवार नीरज जिम्बालाई जस्तै परिस्थिति सहेर पनि विपुल मतले विजयी बनाउने र यसका लागि दार्जीलिङ विधानसभा क्षेत्रका ३२१ बूथमा नै बूथ एजेन्ट राख्ने निर्णय लिएको पनि उनले जनाए।

‘‘आउँदो उपचुनाउ एकदमै महत्त्वपूर्ण चुनाउ हो। २०१९ को लोकसभा चुनाउमा पहाड़का जनताले भाजपाको कमल फूललाई फुलाइसकेका छन्। र हामी विश्वास गर्छौं आउँदो १९ मईको उपचुनाउमा पनि भाजपाको कमल फूल फेरि एकपटक पहाड़मा फुल्नेछ’’, लिम्बूले थपे, ‘‘यसपालिको उपचुनाउ पहाड़का लागि चुनौती र अग्नि परीक्षाको रूपमा खड़ा भएको कारणले गर्दा हामी सम्पूर्ण मतदातालाई, जसले गोर्खाल्याण्ड हुनुपर्छ भन्ने सोच्छन्। जसले पहाड़लाई माया गर्छन्। जसले पहाड़को स्थायी राजनीतिक समाधान हुनुपर्छ भन्छन्। र, जसले पहाड़मा भएका हरेक वर्गका मानिसलाई न्याय हुनुपर्छ भन्ने सोच राख्नु भएको छ, उनीहरू सबैलाई आगामी १९ मईको उपचुनाउमा फेरि कमलको फूलमा आफ्नो मत दिएर पहाड़का योग्य उम्मेदवार नीरज जिम्बालाई विजयी गराइदिने हामी अपील गर्छौं।’’

उम्मेदवार जिम्बा पहाड़का सबै समस्यासँग परिचित रहेको र विधानसभाका लागि योग्य उम्मेदवार भएकोले उनको उम्मेदवार पाउनु नै पहाड़का लागि जय रहेको दाबी गरे। लिम्बूले भने, ‘‘यसबाट निश्चित भइसकेको छ, नीरज जिम्बा उम्मेदवारको रूपमा खड़ा हुनु नै आधा जीत प्राप्त भइसकेको छ। यसैले हामी सबै वर्ग, जात धर्मका जात जातिलाई निवेदन गर्छौं,  लोकसभा चुनाउमा जसरी हामीले भाजपालाई १८ अप्रेलमा जसरी विपुल मत दिएका छौं। त्यसरी नै १९ मईमा पनि विपुल मत दिऊँ।’’

उनले गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-को आयु आगामी २३ मईसम्म मात्र रहेको पनि बताए। गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका प्रवक्ताले लोकसभाजस्तै विधानसभाको उपचुनाउमा पनि विजयी बनाउने आह्वान गरे। साथै पहाड़लाई सुव्यवस्थित बनाउने तथा ‘विनय तामाङहरूले चलाइरहेको कु प्रशासनलाई जराबाटै उखेल्ने जनतासँग थप अपील गरे।

लिम्बूले गोरामुमो प्रवक्ता जिम्बालाई दार्जीलिङ विधानसभाको उपचुनाउमा योग्य उम्मेदवार सम्झेर भाजपाका उम्मेदवार बन्न सहमति र समर्थन जनाउने विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा, भारतीय जनता पार्टीलगायत अन्य दलहरूप्रति पनि आभार प्रकट गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here