क्रामाकपाले उम्मेदवार नउठाउने : वैकल्पिक शक्तिको तयारका लागि पहल शुरु गर्ने

0
1480
क्रामाकपा नेता किशोर प्रधान (फाइल फोटो)।

दार्जीलिङ, २८ अप्रेल : क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा) -ले दार्जीलिङ विधानसभाको उपचुनाउमा आफ्नो उम्मेदवार नउठाउने घोषणा गरेको छ। यसका साथै कुन उम्मेदवारलाई क्रामाकपाले समर्थन गर्नेछ, त्यसको घोषणा सोमबार गर्नेछ।

भोलि चुनाउका लागि नामाङ्कन पत्र बुझाउने अन्तिम दिन हो। आइतबार उपचुनाउलाई लिएर क्रामाकपा केन्द्रिय समितिको दार्जीलिङमा सभा बस्यो।

सभामा पार्टीले  उम्मेदवार नउठाउने तथा तृणमूल र भाजपामुखी दलहरूलाई छोड़ेर पहाड़का अन्य राजनीतिक दलहरूलाई लिएर वैकल्पिक शक्ति तयार गर्ने दिशामा क्रामाकपा अघि बढ़्ने  निर्णय गरिएको किशोर प्रधानले जनसंवादलाई बताए।

प्रधान क्रामाकपाको चुनाउ कमिटीका संयोजक हुन्। उनले भने, “क्रामाकपाले तृणमूल र भाजपासँग मिलेका दलहरूलाई छोड़ी दार्जीलिङका अन्य राजनीतिक दलहरूलाई लिएर वैकल्पिक शक्ति तयार गर्न राजनीतिक अभ्यास शुरु गर्नेछ। यसैले हामीले उपचुनाउमा उम्मेदवार नउठाउने निर्णय गरेका हौं।”

तृणमूल कङ्ग्रेस र भाजपासँग आत्मसमर्पण गर्ने दलहरूको कारण आज दार्जीलिङ पहाड़को क्षेत्रीय राजनीतिक दलहरू र पहाड़को प्रमुख क्षेत्रीय मुद्दाहरू धराप परेको पनि उनले बताए। प्रधानका अनुसार क्षेत्रीय राजनीतिमा राष्ट्रिय पार्टीको ढलिमलीविरुद्ध क्रामाकपा सधैँ खड़ा हुनेछ।

क्रामाकपाले आजै आफ्नो अड़ान स्पष्ट नपारे तापनि एकातिर जनआन्दोलन पार्टीका उम्मेदवार अमर लामालाई समर्थन गर्ने छनक देखिएको छ भने अर्कोतिर आउँदो उपचुनाउमा क्रामाकपा तटस्थ बन्ने सम्भावना पनि छ। किशोर प्रधानका अनुसार कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने कुराको गाँठो क्रामाकपाले भोलि नै खोल्नेछ।

“हामी त्यस्ता वैकल्पिक शक्तिलाई समर्थन गर्नेछौं, जुन तृणमूल र भाजपाअघि लम्पसार परेको छैन। र त्यस्तो शक्ति, जोहरूको गठबन्धनको कारण भोलि बलियो वैकल्पिक शक्ति दार्जीलिङ पहाड़मा तयार हुनेछन्”, उनले भने। उनले गरेको दाबीका अनुसार क्रामाकपाको अड़ानमा केही अन्य राजनीतिक दल पनि सामेल हुनेछन्।

भोलि भाजपा उम्मेदवार नीरज जिम्बा, जाप उम्मेदवार अमर लामा र स्वतन्त्र उम्मेदवार प्रवेश छेत्रीले नामाङ्कन-पत्र बुझाउनेछन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here