गान्तोक, 29 अप्रेल : सिक्किम घुम्न आएका पाँचजना पर्यटकको वाहन दुर्घटना परी मृत्यु भएको छ। उक्त वाहन दुर्घटना आइतवार बेलुकी करिब 6 :30 बजे सात माइलमा भएको हो।
शेरेथाङ पुलिसका अनुसार पूर्व सिक्किमको बाबा मन्दिरबाट गान्तोक फर्किरहेको एसके 01/जे/2207 म्याक्स गाड़ी दुर्घटना हुँदा पाँच पर्यटकको मृत्यु भएको भने अन्य तीनजना गम्भीर घाइते भएका छन्। जानकारीका अनुसार चार पर्यटकको घटनास्थलमा मृत्यु भएको हो एकजना पर्यटकको मृत्यु अस्पतालमा भएको बताइएको छ।
उक्त दुर्घटनामा परी काकिला बोस (42), स्नेहशीष बोस (58), सोमा कर (32), सन्दीप कौर (44), शुभजीत बोस (26) मृत्यु भएको छ भने वाहन चालक सुरेश तामाङलगायत महुया पात्र (21) र सुर्ज्यस कौर (5) गम्भीर घाइते भएका छन्। उनीहरू अहिले सोकेथाङस्थित नयाँ एसटीएनएम अस्पतालमा उपचाराधीन छन्। उनीहरू सबै पश्चिम बङ्गालको हुगली जिल्लाका हुन्।
पुलिसका अनुसार वाहन मूल सड़कबाट करिब चारसय मिटर तल खसेको छ। हिजै बेलुकी होमकार्ड, एसडीआरएफ टीम, स्थानीय गाउँलेहरू, चालक सङ्गठन र टुर अपरेटरको सहयोगमा शेरेथाङ पुलिसले सात माइल जङ्गलबाट उद्धार अभियान चलाएर शवहरू बरामद गर्नका साथै घाइतेहरूलाई उद्धार गरेको थियो।
अर्कोतिर, शेरेथाङ पुलिसले थप जानकारी गराएअनुसार दुर्घटनामा परेका वाहन चालक सुरेश तामाङविरुद्ध भारतीय दण्ड संहिताको धारा 279/337/338 र 304 (ए) अन्तर्गत मुद्दा दर्ता गरिएको बताइएको छ। वाहनमा 8 जना पर्यटक, चालक र एकजना शोपकिपर गरी कुल 10 जना सवार थिए।