दार्जीलिङ, 30 अप्रेल : क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-का अध्यक्ष आरबी राईले आउँदो उपचुनाउमा जनताले निष्पक्षसँग निडर भएर भोट हाल्नु पाउनुपर्ने बताएका छन्।
“चुनाउ फ्री एण्ड फेयर हुनुपर्छ”, राईले थपे, “स्वाधीन प्रकारले छलछाम बिना भोट हुनुपर्छ। सबै राजनीतिक पार्टीले आदर्श आचार संहिता बिर्सिनु हुँदैन।”
मतदाताहरूलाई धम्काउने, प्रलोभन देखाउने र जबर्जस्ती आफ्नो पक्षमा भोट हाल्नु लगाउनु आचार संहिताको विपरीत कुराहरू रहेको पनि बताए।
“यस्ता घटनाहरूप्रति प्रशासन र चुनाउ आयोगले कड़ा दृष्टि राख्न पर्नेछ”, राईले भने। मतदान गोप्य रहने हुनाले मतदानपछि मतदाताहरूलाई विभिन्न प्रकारको डर देखाउने, धम्काउने, प्रतिशोध लिने, बदलाको भावना देखाउने यस्तो कुरा र घटना कतै हुनु नहुने पनि क्रामाकपा अध्यक्षले बताए।