दार्जीलिङ, 2 मई : पार्टीको रणनीति र निर्णयविरुद्ध उभिएर दार्जीलिङ विधानसभाको उपचुनाउमा खड़ा भएकी महिला तृणमूल कङ्ग्रेस दार्जीलिङकी अध्यक्ष शारदा सुब्बाले आफ्नो नामाङ्कन फिर्ता नलिए तापनि तृणमूल कङ्ग्रेस समर्थित निर्दलीय उम्मेदवार विनय तामाङले चुनाउ जित्ने दाबी हिल तृणमूल नेता राजेन मुखियाले गरेका छन्।
शारदा राई सुब्बाको नामाङ्कनबारे स्थानीय पार्टी कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै मुखियाले भने, “महिला तृणमूल कङ्ग्रेस दार्जीलिङकी अध्यक्ष एवं प्रभारी शारदा राई सुब्बाले नामाङ्कन बुझाएपछि उनीसँग मेरो टेलिफोनिक वार्ता हिजोसम्म भइरहेको थियो। उनले मलाई यसबारे विचार गरिरहेको बताइएकी थिइन्, तर अन्तिम प्रयास गर्दा पनि उनले नामाङ्कन फिर्ता लिन मानिनन्।”
मुखियाका अनुसार पार्टीको अड़ान र निर्णयविरुद्ध खड़ा भएकी सुब्बामाथि कारबाही गर्ने निर्णय पार्टी हाइकमानले लिनेछ। यसबारे हिल तृणमूल कङ्ग्रेसले पार्टी हाइकमानलाई बताउने पनि उनले बताए। यसका साथै तृणमूल कङ्ग्रेसले निर्दलीय उम्मेदवार विनय तामाङलाई नै समर्थन गर्ने स्पष्ट पारे। अघिबाटै तामाङलाई समर्थन गरेको हिल तृणमूल कङ्ग्रेसले संयुक्त रूपमा दार्जीलिङ विधानसभाका ठाउँ-ठाउँमा चुनाउ प्रचार गरिरहेको छ।
उनले भने, “शारदा सुब्बाले चुनाउमा उम्मेदवारिता गरे तापनि जीत चाहिँ विनय तामाङकै हुनेछ। किनभने तृणमूल कङ्ग्रेस अहिले पनि बलियो छ। उनले (शारदा सुब्बाले) छोड़ेर गएकोले पार्टी केही कमजोर भएको होला, तर तृणमूल र गोजमुमो-दुई बलियो गठजोड़ भएको छ। गोजमुमो-दुई र तृणमूल मिलेर सबै ठाउँमा प्रतिदिन खटिरहेको छ। ब्लक लेभलदेखि कमान बस्तीसम्म छरिएर चुनाउ प्रचार गरिरहेका छन्।”
मुखियाले यसपालिको विधानसभा चुनाउ विनय तामाङले जित्ने र सम्भावतः बङ्गाल क्याबिनेटका कुनै विभागका मन्त्री बनेर पहाड़का सबै ज्वलन्त समस्यालाई समाधान हुनेछ भन्ने विश्वस्त व्यक्त पनि गरे। यसअवसरमा हिल तृणमूल नेता मिलन डुक्पा पनि उपस्थित थिए।
उल्लेखनीय छ, आगामी 19 मईको दिन सम्पन्न हुने उपचुनाउमा 9 जना उम्मेदवार खड़ा भएका छन्। आज नामाङ्कन फिर्ता लिने अन्तिम दिन कुनै उम्मेदवारले आफ्नो नामाङ्कन फिर्ता लिएनन्। कुल 10 जनाले उपचुनाउका लागि नामाङ्कन पत्र बुझाएका थिए, तर स्वतन्त्र उम्मेदवारको रूपमा नामाङ्कन बुझाएका 26 वर्षे प्रवेश छेत्रीको नामाङ्कन-पत्र स्क्रुटिनीमा रद्द भएको थियो।