पार्टीको निर्णयलाई स्वागत गर्छु, चुनाउ लड़्ने निर्णय मैले जनताका लागि लिएकी हुँ : शारदा सुब्बा

0
1458
शारदा राई सुब्बा (फाइल फोटो)।

दार्जीलिङ, ३ मई  : तृणमूल कङ्ग्रेसको अनुशासनात्मक कारबाहीमा परेकी शारदा राई सुब्बाले पार्टीको निर्णयलाई स्वीकार गर्ने बताएकी छन्। तृणमूल समर्थित स्वतन्त्र उम्मेदवार विनय तामाङविरुद्ध आउँदो उपचुनाउमा स्वतन्त्र उम्मेदवारको रूपमा खड़ा भएकी शारदा राई सुब्बालाई तृणमूल कङ्ग्रेसले ६ वर्षका लागि निष्कासित गरेको छ।

सुब्बा महिला तृणमूल कङ्ग्रेस दार्जीलिङ अध्यक्ष पदमा थिइन्। यता, पार्टीको निर्णयलाई उनले स्वागत जनाउँदै आफूविरुद्ध गरिएको कारबाहीलाई स्वीकार्ने बताएकी हुन्।

जनसंवादसँग टेलिफोनिक कुरा गर्दै उनले भनिन्, “पार्टीले मविरुद्ध जुन कारबाही गऱ्यो, त्यसलाई लिएर मेरो केही भन्नु छैन। म पार्टीको निर्णयलाई स्वीकार गर्छु। मैले जनताका लागि चुनाउ लड़्ने निर्णय गरेकी हुँ। सधैँ जनताका लागि कार्य गर्न म राजनीतिमा आएकी हुँ। त्यसैले जनताको हितमा निर्णय लिनका लागि जस्तै कठिनाइको सामना गर्न पनि म तयार छु।”

उनले थप भनिन्, “म आफ्नै स्वार्थपूर्तिका लागि राजनीति गर्ने मान्छे होइन। यदि मैले आफ्नै लागि राजनीति गरेको भए तृणमूल-गोजमुमो दुईविरुद्ध खड़ा हुने नै थिइनँ। जनता विनय तामाङको उम्मेदवारितासँग खुशी थिएनन्। मैले जनताको कुरा सुनेँ । त्यसैले जोखिम उठाएरै म चुनाउमा खड़ा भएकी हुँ। किनभने मलाई थाहा छ, जनता भए राजनीति रहन्छ। जनताबिनाको राजनीतिको कुनै अर्थै रहँदैन। महत्त्वै हुँदैन।”

सुब्बाका अनुसार अहिले उनी सोझै जनतासम्म गएर चुनाउ प्रचार गरिरहेकी छन्। ‘‘ठूल्ठूला जनसभा गर्ने मसित पैसा छैन। त्यसैले जनतालाई सोझै भेटेर आफ्नो पक्षका कुराहरू राखिरहेको छ। मैले मेरा मुद्दाहरू बताइरहेको छु’’, उनले थपिन्। स्वतन्त्र उम्मेदवार सुब्बाले  चुनाउ चिन्हको रूपमा नौका (नाउ) पाएकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here