दार्जीलिङ, 3 मई : दार्जीलिङ विधानसभाको उपचुनाउमा स्वतन्त्र उम्मेदवारको रूपमा खड़ा भएका स्वराज थापालाई अखिल भारतीय कङ्ग्रेस पार्टीले पनि समर्थन गर्ने घोषणा गरेको छ।
शुक्रबार दार्जीलिङस्थित हिल कङ्ग्रेसको पार्टी कार्यालयमा एक प्रकार सम्मेलनको आयोजन गरी दार्जीलिङ हिल कङ्ग्रेसका अध्यक्ष दावा नर्बुलाले आधिकारिक रूपमा आउँदो उपचुनाउमा कङ्ग्रेस पार्टीले स्वतन्त्र उम्मेदवार स्वराज थापालाई समर्थन गर्ने घोषणा गरे।
उल्लेखनीय छ, गत 1 मईको दिन सिलगढ़ीको जर्नलिस्ट क्लबमा दार्जीलिङ जिल्ला कङ्ग्रेस कमिटीका अध्यक्ष शङ्कर मालाकारसँग थापाले संयुक्त रूपमा पत्रकार सम्मेलन गरेका थिए। कङ्ग्रेसले उपचुनाउमा आफ्नो उम्मेदवार खड़ा नगरेकोले स्वराज थापालाई समर्थन गर्ने सम्भावना थियो भने 1 मईको दिन सिलगढ़ीमा सम्पन्न उक्त पत्रकार सम्मेलनमा कङ्ग्रेस नेता मालाकारले थापालाई पार्टीको समर्थनको प्रस्ताव हाइकमानमा पठाएको र यसबारे स्वीकृति आएपछि आधिकारिक रूपमा जानकारी गराउने बताएका थिए।
यसैबीच आज हिल कङ्ग्रेसले पत्रकार सम्मेलन डाकेर थापालाई समर्थन गर्ने कुरामा औपचारिक रूपमा मोहोर लगाएको छ। पत्रकारहरूलाई सम्बोधन गर्दै दावा नर्बुलाले भने, “भर्खरै मात्र लोकसभाको चुनाउ सकिएको हो। यति चाँड़ै विधानसभाको उपचुनाउ हुन्छ भनेर हामी तयारीमा नै थिएनौं। त्यसैले हामीले हाइकमानसँग जोगाजोग गर्न सकेनौं। हामीले प्रत्येकपटक उम्मेदवार उठाउनका लागि पार्टी हाइकमानको स्वीकृति चाहिन्छ। यद्यपि यसपटक हामीले हाइकमानसँग जोगाजोग गर्नै सकेनौं। यसैबीच हामीले थुप्रै पार्टी र उम्मेदवारले समर्थनका लागि अपील गरे। समर्थन माग्ने ती उम्मेदवारहरूमध्ये हामीले स्वराज थापालाई सबैभन्दा योग्य पायौं। स्वराज थापालाई मैले भर्खरै मात्र चिनेको होइन, तर म सांसद भएर दिल्लीमा हुँदा पनि उनले दिल्लीमा धेरै काम गरेको मलाई थाहा छ। उनको राजनीतिक अनुभव पनि धेरै छ। त्यसैले हामीले सरसल्लाह गरी थापालाई समर्थन गर्ने निर्णय गरेका हौं।”
नर्बुलाका अनुसार थापालाई समर्थन गर्नेबारे आज हिल कङ्ग्रेसले एक सभा गरेको थियो। उनले स्वराज थापाले जितेको खण्डमा पनि कङ्ग्रेससँग सम्बन्ध यस्तै बलियो रहने कुरामा विश्वास व्यक्त गरे।
साथै आउँदो दिन कङ्ग्रेसले आफूलाई पुनर्सङ्गठित गर्ने र यसमा थापाले सहयोग गर्नेसमेत आश्वासन दिएको कङ्ग्रेसका वरिष्ठ नेता एवं पूर्व सांसद दावा नर्बुलाले बताए। यसअवसरमा हिल कङ्ग्रेसका अन्य नेताहरू पनि उपस्थित थिए।
अर्कोतिर, पत्रकार सम्मेलनलाई स्वतन्त्र उम्मेदवार स्वराज थापाले पनि पत्रकारहरूलाई सम्बोधन गरे। यसअवसरमा उनले समर्थनका लागि हिल कङ्ग्रेसप्रति आभार प्रकट गरे। साथै आजको सहभागिताले दार्जीलिङको राजनीतिमा नयाँ मोड ल्याउनेछ भन्ने आशा व्यक्त गरे।
थापाले भने, “मैले क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी र कङ्ग्रेस गरी दुईवटा पार्टीको समर्थन पाएको छु। आउँदो दिनमा अन्य ससाना समूह र सङ्घ-संस्थाहरूबाट पनि समर्थन जुटाउने मेरो प्रयास रहन्छ। किनभने दार्जीलिङमा एउटा नयाँ राजनीतिको निर्माण गर्ने हामीले प्रयास गर्दैछौं।”
दार्जीलिङको वर्तमान राजनीति देख्दा आफूलाई दुःख लाग्ने गरेकोले दार्जीलिङमा सफा र स्वच्छ राजनीतिको निर्माण नै आफ्नो उद्देश्य रहेको पनि थापाले ठोकुवा गरे। उनको दाबीका अनुसार यसै सोचलाई हेरेरै क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीले पनि समर्थन जनाएको हो।