दार्जीलिङ, 5 मई : आगामी 19 मईको दिन सम्पन्न चुनाउ हुने दार्जीलिङ विधानसभाको उपचुनाउलाई लिएर गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पहिलो खेमाका अध्यक्ष विमल गुरुङले पुनः अर्को अडियो क्लिप जारी गरेको छ। उक्त नयाँ अडियोमा गुरुङले यसपटक सबै सचेत नबने र आफ्नो सचेतता दर्शाउन नसके गोर्खा जातिलाई धेरै सङ्कटमा पर्ने स्थिति सिर्जना हुने बताएका छन्।
विमलले अहिले दार्जीलिङ पहाड़ भयानक स्थितिबाट गुज्रिरहेको पनि भन्दै दुईजना व्यक्तिको स्वार्थको राजनीति जाति भुलिए गोर्खा जातिको अस्तित्व र अस्मिता नै खत्तम भएर जाने बताएका छन्। यसका साथै मोर्चा प्रमुख गुरुङले लोकसभा चुनाउ जितिसकेको पनि दाबी पनि गरे।
उनले भनेका छन्, “ममता ब्यानर्जीले हाम्रा सन्तानहरूको निधारमा गोली ठोकेको जवाफ हामी सबै मिलेर लोकसभा चुनाउमा ब्यालेटबाट दिइसकेका छौं।”
गुरुङले जीटीए-२ मा पैसा भण्डार र पुलिस प्रशासनको ताकत रहेको बताउँदै जीटीए-२ को पैसा र पुलिस प्रशासनको घमण्डलाई ओठे जवाफ दिनका लागि गोर्खा जातिमा एकता हुनुपर्ने कुरामा जोड़ दिएका छन्। गोर्खा एकता कायम रहेको खण्डमा भोलिको दिनमा जातिको भविष्य राम्रो हुने उनको भनाइ छ। यसैले पनि आफूहरूमाथि जति नै ठूलो पीरमर्का र समस्या आइपर्दा पनि जातिलाई घात गर्ने काम नगरेको, जातिको शिर ढाल्ने काम नगरेको गुरुङले दाबी गरे। जीटीए क्षेत्रको विकासका लागि आएको पैसा विनय तामाङ र अनित थापाले यो उपचुनाउमा खर्च गरिरहेको पनि गुरुङको आरोप छ।
उनले भनेका छन्, “विनय र अनितले जनताका घर घरमा पैसा पुर्यानइरहेका छन्। जनतालाई पैसा बाँड़ेरै लोभ्याउन सक्छु भन्ने र पैसाको बलमा नै चुनाउ जित्छु भन्ने घमण्ड उनीहरूमा छ।” पैसाको बलले चुनाउ जित्नु जनता मुद्दा र जातिका लागि खतरा रहेको गुरुङको भनाइ छ। अडियोमा विमलले भनेका छन्, “हामीले जातिको शिर ढाल्ने काम गरेका छैनौं। जनताले पनि जातिको शिर ढाल्नु हुँदैन। जातिको शिर नढाल्नु हो भने नीरज जिम्बालाई जिताउनु अनिवार्य छ।”
यसका साथै गुरुङले प्रत्येक जातिप्रेमीले भित्रभित्रै काम गर्नुपर्ने, जसले पैसा दिन्छ, उनीहरूबाट चुपचाप पैसा थापेर चलाइदिने तर नीरज जिम्बाको पक्षमा भोट हालिदिने जनतालाई अपील पनि गरेका छन्। “हामी र नीरज जिम्बासँग पैसा छैन, तर हाम्रोमा स्वाभिमान छ। इज्जत छ। जातिप्रति माया छ। मुद्दा छ”, उनले थपे, “पैसाको राजनीति गर्ने विनय तामाङ र अनित थापालाई हामी सबैले जवाफ दिनुपर्छ। विनय तामाङको पैसा र घमण्डको जवाफ कमलको फूलमा भोट हालेर दिनुपर्छ।”