बङ्गाल विधानसभामा गोर्खाल्याण्डको मुद्दा उठाउनेछु : स्वराज थापा

0
1202
स्वतन्त्र उम्मेदवार चुनावी मुद्दाहरूको सार्वजनिक गर्दै क्रामाकपा र कङ्ग्रेसका नेतृत्वहरू।

दार्जीलिङ, 6 मई : क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा) र कङ्ग्रेस  पार्टीदद्वारा समर्थित स्वतन्त्र उम्मेदवार स्वराज थापाले सोमवारदेखि आफ्नो चुनाउ प्रचार शुरु गरेको छ। आज बिहान  स्थानीय महाकाल धाममा पूजा अर्चना गरी थापाले आफ्नो चुनाउ प्रचार शुरु गरेका हुन्।

यसअवसरमा क्रामाकपा र कङ्ग्रेस समर्थकहरूले थापाको समर्थनमा चौरस्तादेखि दार्जीलिङ शहरमा जुलूस पनि निकाले। जुलूसमा कङ्ग्रेसका वरिष्ठ नेता एवं पूर्व सांसद दावा नर्बुला, क्रामाकपाका प्रवक्ता गोविन छेत्री, क्रामाकपा चुनाउ कमिटीका संयोजक किशोर प्रधान, क्रामाकपाको युवा एकाइ गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चा (गक्रायुमो) महासचिव अरुण घतानी, दार्जीलिङ जिल्ला कङ्ग्रेसका अध्यक्ष हेम राई, कालेबुङ जिल्ला कङ्ग्रेसका अध्यक्ष दिलीप प्रधान पनि विशेष रूपले उपस्थित थिए। उक्त जुलूस स्थानीय गोर्खा दुःख निवारक सम्मेलन (गोदुनिस) पुगेर एक चुनावी सभामा सम्पन्न भएको थियो।

गोदुनिसमा सम्पन्न सभालाई सम्बोधन गर्दै स्वतन्त्र उम्मेदवार स्वराज थापाले आफूसँग पैसा रुपियाँ नभए तापनि इमानदारिता र  गोर्खा स्वाभिमान रहेको बताए।

“म गोर्खा जाति र मुद्दाप्रति इमानदार र स्वच्छ छु। म स्वच्छ र सफा राजनीतिको पक्षमा छु। पछिल्लो 2007 सालदेखि म गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) सँग सम्बन्धित रहेर गोर्खाल्याण्डको मुद्दालाई हेरेर राजनीतिमा प्रत्यक्ष रूपमा जोड़िए।  म राजनीतिमा जोड़िनुको एउटै कारण गोर्खाल्याण्डको मुद्दा थियो”, उम्मेदवार थापाले थपे, “तर 2007 -देखि 2017 सम्म गोजमुमो पहाड़को सत्तामा हुँदामा पनि म इमानदार रहे। इमानदारसँग राजनीति गरे। मैले ममाथि दाग लाग्न दिइनँ। तपाईंहरू आफैले हेर्नुहोस्, आज धेरैजना कहाँदेखि कहाँ पुगेका छन्, तर म जस्तोको त्यस्तै छु। यी सबै मेरा इमानदार र स्वच्छ राजनीतिको कारण सम्भव भएको हो।”

थापाले आफू केही दिनअघिसम्म संलग्न रहेको पार्टीले छुट्टै राज्यको मुद्दा कुरा छोड़िसकेको पनि बताए। र अहिले त्यो पार्टीले नेतृत्वलाई बचाउने राजनीति गरिरहेको दाबी गरे। आफ्नो स्वराज थापाले ‘गोर्खा एकता’-माथि पनि कटाक्ष गरे।

साथै पछिल्लो लोकसभा चुनाउ बाहिरका उम्मेदवार दार्जीलिङमा ल्याउने राजनीतिविरुद्ध सैद्धान्तिक विरोधको सन्देश दिन मात्र आफूले लोकसभा चुनाउमा नामाङ्कन भरेको स्पष्टीकरणलाई आज पनि थापाले दोहोर्‍याए। यद्यपि सैद्धान्तिक विरोध जताएका लागि  नामाङ्कन पत्र भर्दा मात्र उनलाई गोर्खाविरोधी, गोर्खा एकता फुटाउने आदिको संज्ञा दिएको र यसको जवाफ आफूसँग रहेको बताए।

उनले थपे, “भारतीय गोर्खाको चिह्नारी र एकताका लागि मैले भागोपमा बसेर काम गरेको 20 वर्षभन्दा धेरै भयो। त्यस्तो धेरै लामो काम गर्ने आज यो मैदानमा कोही छैनन्। त्यसैले एकताको कुरा नगरून्। यदि एकताको कुरा गर्ने नै हो भने ‘ट्र्याक रेकर्ड’ हेर्नुपर्छ। र त्यो ट्र्याक रेकर्ड मेरोबाहेक अरु कसैको पनि छैन।”

थापाले आफ्नो सम्बोधनको क्रममा परोक्ष रूपमा सबै विरोधी दलमाथि कटाक्ष गरे। साथै विरोधी दलहरूले गोर्खा स्वाभिमानको खोक्रो नारा भट्टाएर कोलकाता र दिल्लीमा त्यै गोर्खा स्वाभिमानलाई   झुकाउने कार्य गरिरहेको बताए। थापाले यसअवधि उपचुनाउ जितेर बङ्गाल विधानसभा पुगेको खण्डमा गोर्खाल्याण्डको मुद्दा उठाउने ठोकुवा गरे।

सभालाई क्रामाकपा प्रवक्ता गोविन छेत्री, गक्रायुमो महासचिव अरुण घतानी, गक्रानामो सचिवा सञ्जिला घिसिङ, कालेबुङ जिल्ला कङ्ग्रेस कमिटीका अध्यक्ष दिलीप प्रधानलगायत अन्यले पनि सम्बोधन गरेका थिए।

अर्कोतिर आज चौरस्तामा थापाका चुनावी मुद्दाहरू पनि सार्वजनिक गरियो। यसअवसरमा बोल्दै क्रामाकपा नेता किशोर प्रधानले गोर्खा एकतालाई  अप्ठ्यारोमा पर्दा बाँच्ने खोज्ने उपायको संज्ञा दिँदै विगतमा सुवास घिसिङ र विमल गुरुङ पहाड़मा शक्तिशाली हुँदा किन गोर्खा एकताको कुरा गरेनन् भन्ने प्रश्न गरे। साथै अहिले गोर्खा एकताको कुरा गर्नेहरूले नै विगतमा चार चारजना व्यक्तिलाई बाहिरबाट ल्याएर  सांसद बनाएको पनि बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here