विमलपन्थी नेताद्वय नरेन्द्र काम्बाङ र भक्त खड़्काको घर कुड़्की

0
1609
सम्पत्ति कुड्की गर्दै पुलिस।

दार्जीलिङ, 7 मई : विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का नेताद्वय नरेन्द्र काम्बाङ र भक्त खड़्काको घर पुलिसले कुड़्डी गरेको छ। यी दुवै नेता पछिल्लो गोर्खाल्याण्ड आन्दोलनदेखि भूमिगत अवस्थामा छन् भने उनीहरूमाथि धेरै मुद्दा लागेको छ।

यी दुवै नेता रिम्बिक लोधोमाअन्तर्गत पर्ने बाँसबोटेका हुन्। घर कुड्डी गर्न मङ्गलवार बिहानै पुलिस बाँसबोटे पुगेको थियो। पुलिसले दुवैको घरबाट फर्निचरलगायत भाँड़ाकुड़ा र लुगाफाटासमेत लगेको बताइएको छ। अर्कोतिर भक्त खड़्काका छोराको शैक्षिक प्रमाण-पत्र पनि पुलिसले लगेको आरोप उठेको छ।

घटनाबारे बोल्दै भक्त खड़्काका छोरा मञ्जिल खड़्काले भने, ‘‘आज बिहान करिब 10.30 बजे पुलिस हाम्रो घरमा आयो। त्यसपछि पुलिसले हाम्रो घरको सम्पत्ति कुड़्की गर्ने आदेश छ भनेर घरभित्र रहेका फर्निचरहरू लिएर गए। पुलिसले आजै अर्का नेता नरेन्द्र काम्बाङको घर पनि कुड्की गरेको छ। मेरा बाबा पछिल्लो गोर्खाल्याण्ड आन्दोलनमा संलग्न रहेकोले घर कुड़्की गरिएको पुलिसले बताएको छ।’’

उनले थप भने, “पछिल्लो वर्षको मई महिनामा पुलिसले मेरो माध्यमिक परीक्षाको सर्टिफिकेट लगेको थियो। त्यो सर्टिफिकेट पुलिसले आज फर्काउने बताएको थियो, तर फर्काएन। मेरो कलेज शुरु हुनै लागेको छ। र मैले अब चाँड़ै कलेजमा भर्ना हुनपर्छ, तर माध्यमिक सर्टिफिकेट र अन्य दस्तावेजबिना म कसरी कलेजमा भर्ना हुन पाउँछु?’’ उनले यसपालि उच्च माध्यमिक परीक्षा दिएका थिए, जसको परिणाम मई महिनाको अन्त्यतिर नभए जून महिनाको पहिला सातातिर प्रकाशित हुनेछ।

मञ्जिलका अनुसार आज उनीहरूको घरबाट फर्निचर, भाँड़ावर्तन, कार्पेट पुलिसले कुड़्की गरेको छ।  पुलिसले आज कुड़्की गरेको घरमा आमा-छोरा मात्र बस्दै आएका थिए। उनका दाजु र दिदी बाहिर छन्, जसले कमाएर पठाएको पैसाले नै उनीहरूको घर चल्दै आएको छ।

बाबाको कारण सम्पूर्ण परिवार प्रभावित बन्न नहुने मञ्जिलको भनाइ छ। उनले भने, “बाबाको कारण हाम्रो सम्पूर्ण परिवार प्रभावित हुनुहुँदैन। म एकजना विद्यार्थी हुँ। त्यसैले मलाई न त आन्दोलनबारे केही थाहा छ न त म त्यसमा संलग्न नै थिए। यो हामीमाथि अन्याय अत्याचारबाहेक केही होइन।” पुलिसले यदि पुलिसले उनको शैक्षिक प्रमाण-पत्र नफर्काए भविष्य अन्धकार बन्ने पनि मञ्जिलले बताएका छन्।

अर्कोतिर नरेन्द्र काम्बाङको घरबाट पनि फर्निचर, भाँड़ा वर्तन र अन्य सम्पत्ति कुड़्की गरेको बताइएको छ। काम्बाङको घरमा उनकी आमा, श्रीमती र नानीहरू बस्दै आएका छन्। पुलिसले सम्पत्ति कुड्की गरेपछि दुवै परिवार बिचल्लीमा परेका छन्। अर्कोतिर पछिल्लो गोर्खाल्याण्ड आन्दोलनअवधि भएका हिंसात्मक घटनाहरूमा संलग्न रहेको आरोपमा विभिन्न मुद्दा लागेको नरेन्द्र काम्बाङ र भक्त खड़्कालाई धेरैपटक कोर्टमा उपस्थित हुने नोटिस जारी गरे तापनि उपस्थित नभएकोले कोर्टको आदेशमा आज दुवैजनाको घर कुड़्की गरेको पुलिस सूत्रले बताएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here