दार्जीलिङ, 7 मई : मङ्गलवार जोरबङ्ग्लोस्थित डाइरी गाउँबाट गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) समर्थक 60 घर विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) -मा सामेल भएको बताइएको छ। उनीहरू स्थानीय निवासी दिवस राईको नेतृत्वमा गोरामुमो त्यागेर विनयपन्थी गोजमुमोमा सामेल भएका हुन्। उनीहरूले आज दार्जीलिङमा आयोजित एक सभाबीच विनयपन्थी गोजमुमोका महासचिव अनित थापाको हातबाट गोजमुमोको झण्डा थापे।
थापा तृणमूल समर्थित स्वतन्त्र उम्मेदवार विनय तामाङको चुनाउ प्रचारका लागि अहिले दार्जीलिङमा डेरा जमाएर बसेका छन् भने तामाङलाई जिताउनका लागि दार्जीलिङका विभिन्न ठाउँको प्रतिनिधि भ्रमण गरिरहेका छन्।
विनय तामाङ र अनित थापाको नेतृत्वमा दार्जीलिङ पहाड़मा शान्ति तथा विकास भइरहेकोले आफ्नो क्षेत्रको विकास पनि यी दुईकै नेतृत्वमा सम्भव रहेको बुझेर आफूहरू गोरामुमो त्यागेर विनयपन्थी गोजमुमोमा सामेल भएको दिवस राईले बताए।
नयाँगरी दलमा सामेल भएका सदस्यहरूलाई स्वागत गर्दै अनित थापाले उनीहरूका लागि आफू 24 घण्टै साथमा रहेको बताए।
अर्कोतिर आजै तकदा ग्लेनवर्ण समष्टिअन्तर्गत नयाँ बस्ती 6 माइलका 8 घर विमलपन्थी गोजमुमोका समर्थक पनि विनयपन्थी गोजमुमोमा सामेल भएको दाबी गरिएको छ। आफ्नो चुनाउ प्रचार गर्दै नयाँ बस्ती पुगेका विनय तामाङकै हातबाट उनीहरूले झण्डा ग्रहण गरेको थप बताइएको छ।