ममतालाई हराउन बङ्गालमा भाजपालाई माकपाको सहयोग!

0
1141
साङ्केतिक तस्वीर।

कोलकाता, 9 मई : बङ्गालमा तीव्र गतिमा आफ्नो जनाधार बढ़ाइरहेको भाजपाले अप्रत्याशित रूपमा माकपा कार्यकर्ताहरूको सहयोग पाइरहेको छ। खबरका अनुसार तृणमूल कङ्ग्रेसको दमन र उत्पीड़नबाट निकास खोजिरहेका माकपा कार्यकर्ताहरूले जमिनीस्तरमा चुपचाप भाजपालाई सहयोग गरिरहेका छन्।

बङ्गालको बद्लिँदो राजनीतिक परिस्थितिमा यो एउटा अस्वाभाविक घटनाक्रमको विकास नै मान्नुपर्छ। र यसले तृणमूल कङ्ग्रेसको साङ्गठनिक शक्तिलाई बिस्तारै कमजोर बनाउँदै लगिरहेको अनुमान लगाइनु शुरु गरिएको छ।

नीति-सिद्घान्तमा 36 को आँकड़ा रहेको माकपाका कार्यकर्ताहरूले होहल्ला नगरी चुपचाप भाजपालाई सहयोग गर्नुको कारण तृणमूल कङ्ग्रेस नेतृ ममता ब्यानर्जी र उनको नीति नै प्रमुख हो। किनभने पछिल्लो समयमा तृणमूल कङ्ग्रेसले जस्तो गरी उनीहरूमाथि उत्पीड़न र दमन गरिरहेको छ, त्यसविरुद्ध माकपा कार्यकर्ताहरू ममताको हार चाहन्छन्। यसैले ममतालाई कड़ा टक्कर दिने र पराजित गर्नसक्ने क्षमता राख्ने बलियो शक्ति खोजिरहेको छ। अहिलेको परिप्रेक्ष्यमा माकपा कार्यकर्ताहरूले यो शक्ति भाजपामा देखिरहेका छन्।

जमिनीस्तरमा माकपा कार्यकर्ता र भाजपाबीच चलखेलको गतिलो उदाहरण उत्तर कोलकाता हो। जहाँ तृणमूल सांसद सुदीप बन्दोपाध्यायलाई पराजित गर्न माकपा कार्यकर्ताहरूले गोप्य रूपमा भाजपालाई समर्थन गरिरहेका छन्। जानकारीका अनुसार लेफ्टको पड़क रहेको वार्डहरूमा माकपा कार्यकर्ताहरू भाजपाका लागि प्रचार गरिरहेका छन्। साथै बूथ र वार्ड लेभलको बूथ म्यानेजमेन्टमा पनि भाजपालाई मद्दत गरिरहेका छन्।

घर दैलो अभियान गरिरहेका भाजपा नेतृत्वहरूले सतर्क अपनाएर लगातार माकपा कार्यकर्ताहरूसँग बैठक गरिरहेका छन्। नाराबाजी र होहल्ला नगरी यी दुईबीच भित्री खेल चलिरहेको छ। जानकारीका अनुसार मतदानको दिन भाजपाका पोलिङ एजेन्टहरू नभएका मतदान केन्द्रहरूमा माकपा कार्यकर्ताहरूले निगरानी राख्ने कुरामा अलिखित सम्झौता भइसकेको छ। उत्तर कोलकाताको संसदीय सीटमा तृणमूल सांसद बन्दोपाध्यायविरुद्ध भाजपाका राहुल सिन्हा चुनाउमा खड़ा छन्।

यद्यपि आफ्ना कार्यकर्ताहरूले जमिनीस्तरमा यसरी भाजपालाई सहयोग गरिरहेको कुरा माकपाका वरिष्ठ नेतृत्वहरूलाई पचेको छैन। माकपा नेतृत्वहरू भाजपालाई तृणमूल कङ्ग्रेसभन्दा डरलाग्दो ठान्छन्।

त्रिपुराका पूर्व मुख्यमन्त्री माणिक सरकारले स्पष्ट रूपले उठाउँदै आफ्ना भाजपालाई सहयोग नगर्न आफ्ना पार्टीका कार्यकर्ताहरूलाई सुझाएका छन्। यसका लागि उनले त्रिपुराको उदाहरणसमेत दिएका छन्।

अर्कोतिर जमिनीस्तरको माकपा कार्यकर्ता र भाजपाबीचको चलखेललाई ममताले पनि बुझिसकेकी छन्। यसपटक तृणमूल सुप्रिमोलाई राज्यमा सबैभन्दा ठूलो डर भाजपाबाटै छ।  त्यसैले पनि आफ्ना कार्यकर्ताहरूलाई यो माकपा कार्यकर्ताहरू र भाजपाबीच जमिनीस्तरमा जुन भित्री चलखेल भइरहेको छ, त्यसबाट सतर्क बस्नुपर्ने तथा सावधान अपनाइनुपर्ने लगातार बताइरहेकी छन्।

समाचार स्रोत- नवभारत टाइम्स

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here