नयाँ दिल्ली, 9 मई : विश्वकपको मुखैमा टीम इन्डियाको फिटनेसलाई लिएर प्रश्न उठ्न शुरु भएको छ। विश्वकपका लागि चयन भएका एकपछि अर्का खेलाड़ी घाइते हुनथालेपछि टीम इन्डिया चेपारोमा पर्न थालेको छ।
केही दिनअघि मध्यक्रमका विश्वासिला ब्याट्सम्यान केदार जाधव घाइते भएपछि आईपीएलबाट बाहिरिएका थिए। विश्वकपमा उनको उपस्थिति अनिश्चित बनेको छ। यस्तो स्थितिमा टीम इन्डियालाई मुख्य बलर भुवनेश्वर कुमारको चोटले अप्ठ्यारोमा पारेको छ। जानकारीका अनुसार भुवीको खुट्टामा चोट लागेको छ।
उल्लेखनीय छ, 30 मईदेखि इङ्ग्ल्यान्डमा खेलिने विश्वकपका लागि टीम इन्डियामा केवल तीनजना विशेषज्ञ बलर चयन गरिएको छ। यस्तोमा भुवीको चोट ठूलो समस्या बन्नसक्छ।
आईपीएलमा बुधबार एलिमिनेटर म्याचमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच खेलिएको म्याचमा भुवीको खुट्टामा चोट लागेको हो। त्यसबेला भुवीले 19 ओभरको चौथो बल फ्याँकिरहेका थिए। यो भुवीको अन्तिम ओभर थियो। यद्यपि बिनाउपचार नै उनले आफ्नो ओभर पूरा गरे। घाइते अवस्थामै बल गरिरहेका भुवीले पाँचौं बलमा रिषभ पन्तको विकेट पनि लिए। भुवीको चोट सामान्य रहेको र विश्वकप अघि नै निको हुने आशा टीम म्यानेजमेन्टलाई छ।
विश्वकपका लागि टीम इन्डियामा भुवीबाहेक जसप्रीत बुमराह र मोहम्मद शमीले स्थान पाएका छन्। रिजर्ब बलरको रूपमा इशान्त शर्मालाई राखिएको छ। इशान्तले पनि आआपीएलमा राम्रो बलिङ गरिरहेका छन्।
सनराइजर्स हैदराबाद हिजो दिल्लीसँग पराजित भएपछि भुवीले आराम गर्ने मौका पाएका छन्। यसैले पनि विश्वकपका लागि उनी ठीक हुने आशा गरिएको छ।