दार्जीलिङ, ११ मई : माकपा नेता एवं राज्यसभाका पूर्व सांसद समन पाठकले दार्जीलिङमा गणतन्त्र सबैभन्दा ठूलो खतरामा रहेको बताएका छन्। पोख्रेबुङमा माकपा उम्मेदवार केबी वातरको पक्षमा आयोजित चुनावी जनसभालाई सम्बोधन गर्दै पाठकले यस्तो बयान दिएका हुन्।
उनले दार्जीलिङमा गणतन्त्र खतरामा रहेकै कारण विपक्षी पार्टीहरूले बोल्ने अधिकार गुमाएको बताए। पाठकको आरोपका अनुसार राज्य सरकारले पुलिस प्रशासन लगाएर दार्जीलिङमा गणतन्त्रको खुल्ला हत्या गर्ने कार्य गरिरहेको छ।
“हाम्रो पार्टीको अड़ान र टेक नै दार्जीलिङमा गणतन्त्रको पुनर्बहाली हो”, माकपा नेताले भने, “जसरी पहाड़मा विभिन्न राजनीतिक दललाई प्रशासन दबाउ दिएर, विभिन्न झूटा मुद्दाहरूमा फँसाएर निमिट्यान्न पार्ने षड़यन्त्र गर्दैछ।” यसको विरुद्ध जनता जुर्मुराएर उठ्नुपर्ने उनको भनाइ छ।
उनले माकपा दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधानको लागि प्रतिबद्ध रहेको ठोकुवा गर्दै र सशोधित छैटौं अनुसूची नै दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधानका लागि उपयुक्त रहेको बताए।
पाठकका अनुसार मार्क्सवादी कम्युनिस्ट पार्टीले भनिरहेको छैटौं अनुसूची संशोधित छैटौं अनुसूची हो, जुन छैटौं अनुसूचीमा गैरजनजाति बहुसङ्ख्यक जाति समुदायको अधिकारको रक्षा हुनुपर्छ। उनीहरूको जमिनको सुरक्षा हुनुपर्छ। साथै गैर गोर्खा तथा छैटौं अनुसूचीमा प्रतिनिधि नहुने समुदायहरूको सुरक्षा सुनिश्चित हुनुपर्छ।
उनले ६ दिसम्बर २००५ मा तत्कालीन दागोपाप अध्यक्ष सुवास घिसिङ, राज्य र केन्द्र सरकारबीच ७ वटा संशोधनसँग मेमोरेन्डम अव् सेटलमेन्ट भएको छैटौं अनुसूची नै दार्जीलिङका लागि उपयुक्त हुने यी माकपा नेताको भनाइ छ।
आफ्नो सम्बोधनमा उनले दार्जीलिङको पर्जापट्टा, चियाश्रमिकहरूको निम्नतम रोज वृद्धिसँगै दार्जीलिङका अन्य समस्याहरू पनि उठाउँदै यी सबै समस्याको समाधानका लागि माकपा प्रतिबद्ध रहेको ठोकुवा गरे।
माकपा नेता समन पाठकले चियाश्रमिकहरूको वर्तमान अवस्थाका लागि सबैभन्दा बढ़ी दायी सरकार र त्यसपछि मालिकपक्ष रहेको बताए। सभालाई माकपा उम्मेदवार केबी वातर र डीवाइएफआई नेता सचिन खातीलगायत अन्यले पनि सम्बोधन गरेका थिए। माकपा उम्मेदवार वातरले क्षेत्रका जनतालाई आफ्नो पक्षमा मतदान गरिदिने अपील गरे। अर्कोतिर आजै मलटमा पनि माकपाको चुनावी सभा सम्पन्न भएको थियो।