गान्तोक, 12 मईः बर्खा शुरु नभई सिक्किमका विभिन्न ठाउँमा पैह्रो जाने क्रम शुरु भएको छ। यसै क्रममा आइतवार राष्ट्रिय राजमार्ग-10 को 32 नम्बर नजिक पैह्रो झर्दा प्रायः दुई घण्टासम्म राष्ट्रिय राजमार्ग बाधित बन्यो।
पैह्रोको कारण घण्टौंसम्म यात्रीहरू जाममा फँस्नु पर्यो भने सयौंका सङ्ख्यामा वाहनको चलाचल अवरुद्ध बन्यो। विशेष गरेर सिलगढ़ी तथा मधेशतर्फ जाने पर्यटकहरूले धेरै समस्याको सामना गर्न पर्यो, तर प्रशासनको पहलमा दुई घण्टापछि पैह्रो हटाएर यात्रा सुचारू बनाइयो।
यसैगरी सिङ्तामदेखि सिरवानी हुँदै दक्षिण र उत्तर सिक्किमलाई जोड्ने सिरवानी सड़क खण्ड पनि पैह्रोको कारण धेरै लामो समयसम्म बाधित बन्यो। पूर्व सिक्किमको रङ्गेली बजारमा पनि पैह्रोले धेरै क्षति पुर्याएको समाचार प्राप्त भएको छ। त्यहाँ पैह्रोले सड़क बन्द हुनुका साथै एउटा बाइकलाई क्षति पुर्याएको छ। लगातार परेको वर्षा तथा हावा-हुण्डरीको कारण विभिन्न स्थानमा बिजुली आपूर्तिमा पनि बाधा पुगेको बताइएखो छ।
विशेष गरी पश्चिम पाण्डाम क्षेत्रका डुगा, साजोङ, भुरुङ, मध्य पाण्डाम, रालोङ आदि गाउँमा बिजुलीको खुट्टी लड्नाले बिजुली आपूर्ति ठप्प बनेको छ। बिजुली आपूर्तिलाई सुचारू बनाउन विभागीय अधिकारीहरू लागिपरेका छन्। यद्यपि बिजुली सुचारू बनाउन भोलिसम्म समय लाग्ने बताइएको छ।
यसैगरी आज राज्यका विभिन्न ठाउँमा असिना-पानीले आममानिस प्रभावित बनेका छन्। पाकिम क्षेत्रमा दुई इञ्चसम्म असिना परेको बताइएखो छ। छाङ्गु तथा बाबा मन्दिर क्षेत्रमा व्यापक रूपमा परेको असिनाले पर्यटकहरूलाई धेरै असुविधा भएको बताइएको छ। अहिले राज्यमा पर्यटक मौसम रहेको कारण यो मौसममा छाङ्गु तथा बाबा मन्दिर घुम्न गएका पर्यटकहरूले धेरै समस्या खप्नु पर्यो।