न ‘मोटा’ न ‘चोट्टा’ दुवै पिँधबिनाको लोटा : अमर लामा

0
2152
चामुङमा चियाश्रमिकहरूलाई सम्बोधन गर्दै जाप उम्मेदवार अमर लामा।

दार्जीलिङ, 13 मई : चुनाउ प्रचारमा व्यस्त रहेका जनआन्दोलन पार्टी (जाप)-का उम्मेदवार अमर लामाले सोमबार चामुङ, सेलेम्बुङ, सिम्रिकपानी, टर्जम र पोख्रेबुङ क्षेत्रमा घर दैलो अभियान गरी चुनाउ प्रचार गरे। यसअवसरमा उनले यी क्षेत्रका जनतालाई ठाउँ-ठाउँमा संक्षिप्त रूपमा सम्बोधन पनि गरे।

ठट्यौली शैलीमा चियाकमानसम्बन्धित गम्भीर समस्याहरूको कुरा उठाएका लामाले चुनाउमा खड़ा भएका विपक्षी पार्टीहरूका नेताहरू दार्जीलिङको मूल मुद्दा गोर्खाल्याण्ड र चियाबारीका विभिन्न समस्यालगायत अन्य विषयहरूमा गम्भीर नरहेको ठोकुवा गरे।

उनले भने, ‘‘न मोटा न चोट्टा दुवै पिँधबिनाको लोटा।’’ भाजपा उम्मेदवार नीरज जिम्बाको प्रचारमा युवावर्गलाई आकर्षित गर्नका लागि बनाइएको ‘डोन्ट भोट फर चोट्टा, भोट फर मोटा’ स्लोगानले अहिले सोशल मीडियामा धेरै चर्चा पाइरहेको छ।

यो  स्लोगानलाई जीएनएलएफ पेजमा पनि केही दिनअघि शेयर गरिएको थियो। यसै सन्दर्भमा बोल्दै लामाले ‘मोटा’ र ‘चोट्टा’ दुवैलाई पिँधबिनाको ‘लोटा’ बताएका हुन्।

यसका साथै उनले तृणमूल समर्थित स्वतन्त्र उम्मेदवार विनय तामाङ र विनयपन्थी गोजमुमो र गोरामुमो समर्थित भाजपा उम्मेदवार नीरज जिम्बा दुवै दार्जीलिङ पहाड़का मूलभूत समस्या र मुद्दाप्रति गम्भीर नरहेको र केवल विधायक बन्नका लागि जनतालाई झूटा आश्वासनहरू दिइरहेको आरोप लगाए।

‘‘लोकसभा चुनाउमा पर्जापट्टा मागेपछि अब उनीहरूले विधानसभा चुनाउमा के माग्छन् होला। कोलातामा पाउने कुरा उनीहरूले दिल्लीमा मागिसके’’, लामाले थपे, ‘‘पर्जापट्टा पाउने ठाउँ बङ्गालको विधानसभा हो। मलाई त्यहाँ पठाउनुहोस्, म त्यहाँबाट पर्जापट्टा लिएर आउँछु।’’

जाप उम्मेदवारले दुवै पार्टीलाई गोर्खाल्यान्ड र जनजातिको मान्यता ल्याएर देखाए राजनीति गर्नै छोड़िदिने चुनौती दिए।

उनले थपे, ‘‘लोकसभा चुनाउमा सबै दलका उम्मेदवारहरूले पर्जापट्टा, रोजवृद्धिको कुरा गरे। 105 दिनको बन्दको कुरा गरे। किनभने जस्तै मै हुँ दार्जीलिङका राजनीतिक दल र नेताहरूले पनि गोर्खाल्याण्डको कुरा गर्न सक्दैनन्। कारण थुप्रै छन्, दिल्लीमा भएको भारतीय जनता पार्टीको सरकारले गोर्खाल्याण्ड दिनेवाला छैन। यो कुरामा हामीले पाँच वर्षमा नै बुझ्यौं।’’ 

यसअवसरमा यी जाप उम्मेदवारले आफ्नो पक्षमा भोट हालिदिने क्षेत्रका जनतासँग अपील पनि गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here