दार्जीलिङ, १५ मई : तृणमूल कङ्ग्रेसविरुद्ध विद्रोही गरी स्वतन्त्र उम्मेदवारको रूपमा आगामी उपचुनाउमा खड़ा भएकी शारदा सुब्बाले सत्तारूढ़ दलले पैसा बाँड़ेर चुनाउ जित्ने कोशिश गरिरहेको आरोप लगाइन्। बुधबार फुबछिरिङमा चुनाउ प्रचार गरेपछि मीडियासँग बोल्दै यस्तो आरोप लगाएकी हुन्।
‘‘अहिले उनीहरू (विनयपन्थी गोजमुमो) डुल्दैछन्। गाउँ समाजलाई पचास-पचास हजार, तीस-तीस हजार र लाख रुपियाँ पैसा दिँदैछन्’’, उनले थपिन्, ‘‘त्यसरी नै चुनाउ जिताएको खण्डमा समादज घर बनाइदिन्छौं। यो गरिदिन्छौं-त्यो गरिदिन्छौं भनेर उनीहरूले भन्दैछन्। त्यस्तै हाम्रा युवा भाइहरूलाई पैसा दिएर कुबाटोमा डोराइरहेका छन्। यत्रो पैसा उनीहरूमा कहाँबाट आउँदैछ। अनि जुन प्रकारले अहिले उनीहरूले समाज समाजलाई पैसा दिँदैछन्, त्यो कुन कोषबाट दिँदैछन्?’’
उनले एउटा पदमा बसेका राजनीतिक व्यक्तिकोमा यत्रो करोड़ौं करोड़ौं रुपियाँ पैसा कहाँबाट आउँदैछ भन्ने प्रश्न पनि गरेकी छन्।
सुब्बाले भनिन्, “दार्जीलिङ विधानसभा क्षेत्रमा धेरैवटा समाज छन्। धेरै युवा छन्, तर सबैलाई पैसा दिँदैछन्। यति धेरै पैसा कहाँबाट आउँदैछ? अर्को कुरा पैसा लिने समाजहरूले पाएको पैसा ठीकसँग लेखाजोखा गरेका छन् कि छैनन्। ब्याङ्कमा राखेका छन् कि छैनन्। यसको अडिट पछि गएर गराउँछ कि गराउँदैन, त्यो पनि हामीले हेर्नुछ।”
उनले पैसा बाँड़ेर भोट किन्ने कार्य झट्टभन्दा झट्ट बन्द हुनेपर्ने तथा यसको कड़ा रूपले विरोध जनाउने बताइन्।
‘‘उनीहरूले आज पनि विभिन्न समुदायका धार्मिकस्थलहरूमा गइरहेका छन्। उनीहरूको संस्कार र संस्कृतिको नाम गरेर पैसा दिन्छौं, बनाइदिन्छौं भनेर भोट बटुल्दैछन्’’, स्वतन्त्र उम्मेदवार सुब्बाले थप भनिन्, ‘‘विभिन्न जातगोष्ठीका मानिसहरूलाई घर दिन्छौं भनेर भोट बटुल्दैछन्, जबकि अहिलेसम्म जातगत विकास बोर्डहरूले गरीबभन्दा गरीब मानिसहरूलाई घर दिनसकेका छैनन्। धनी धनीहरूले मात्र अहिलेसम्म घर पाएका छन्।’’
उनले गाउँ-बस्ती र चियाकमानका मानिसहरूलाई उनीहरूले पाउनुपर्ने अधिकार र सहुलियतबाट वञ्चित बनाइरहेको पनि बताइन्। साथै चियाश्रमिकहरूलाई क्षतिपूर्ति दिने आश्वासनलाई चुनावी जुम्ला-को संज्ञा दिइन्।
सुब्बाले क्षेत्रका मतदाताहरूलाई झूटा आश्वासन दिने नेताहरूबाट सतर्क बन्ने आह्वान गर्दै आफ्नो पक्षमा मतदान गरिदिने अपील पनि गरिन्।