कोलकाता, १५ मई : बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यमा गणतन्त्रको गला निमोठेको आरोप प्रधानमन्त्री नरेन्द्र मोदीले लगाएका छन्। बुधबार बशिरहाटमा चुनावी सभालाई सम्बोधन गर्दै प्रम मोदीले यस्तो आरोप लगाएका हुन्।
उनले भने, “म ती परिवारहरूप्रति समवेदना प्रकट गर्दछु, जसको हत्या तृणमूलले गऱ्यो। जो घाइते छन्, उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। म तपाईंहरूलाई विश्वास दिलाउँछु, लोकतन्त्रका लागि तपाईंहरूको बलिदान व्यर्थ जानेछैन।”
‘ममता दिदीका गुण्डाहरूले गोली र बम लिएर विनाश गर्नका लागि सड़कमा ओर्लिएको’ आरोप पनि प्रम मोदीले लगाए। यसका साथै उनले राज्यवासी जनतामा रहेको जोशले ममता ब्यानर्जीको अत्याचारी सत्तालाई एकदिन जराबाटै उखेलेर फ्याँक्ने दाबी गरे।
“हिजो कोलकाताको तस्वीर सम्पूर्ण देशले देख्यो। आज देशभरि यसको चर्चा भइरहेको छ”, मोदीले थपे, “पश्चिम बङ्गालमा भाजपाको लहरले दिदी आतिएकी छन्। डराएकी दिदी कुन स्तरमा झरिसकेकी छन् भन्ने देश-दुनियाँले हेरिरहेको छ।”
प्रधानमन्त्री हिजो भाजपा अध्यक्ष अमित शाहको रोड शोमा भएको हमलालाई लिएर तृणमूल सुप्रिमोलाई घेर्दै ममताले घोषित एजेन्डाअन्तर्गत २४ घण्टाभित्रै भाजपा अध्यक्षमाथि हमला भएको दाबी गरे।
अर्कोतिर मोदीले यसपालि भाजपाले ३०० भन्दा अधिक सीट प्राप्त गर्ने तथा आफू नै प्रधानमन्त्री बन्ने ठोकुवा गरे। ‘‘ममता दिदी आफ्नै छायाँसँग तर्सिरहेकी छन्। किनभने उनको जमिन खस्किसकेको छ। २०१९ मा नै दिदीको ‘पत्ता साफ’ हुँदैछ’’, प्रम मोदीले भने।