दार्जीलिङ, १६ मई : बङ्गाल सरकारको निर्देशमा विनय तामाङले दार्जीलिङ पहाड़मा द्विस्तरीय पञ्चायत चुनाउको कुरा गरिरहेको जनआन्दोलन पार्टी (जाप)-का उम्मेदवार अमर लामाले बताएका छन्। विनयले दार्जीलिङमा पहाड़मा द्विस्तरीय पञ्चायत चुनाउको कुरा गरी महकुमा परिषद् बचाउन खोजिरहेको र यो बयान सोझो बङ्गाल निर्देशित रहेको लामाको ठहर छ।
जनसंवादसँग विशेष कुराकानी गर्दै जाप उम्मेदवार लामाले भने, “जीटीए सम्झौतामा पहाड़मा त्रिस्तरीय चुनाउको उल्लेख छ। विनय तामाङ जीटीए सम्झौता गर्ने पार्टीकै नेता थिए। अहिले आएर उनी जीटीए सम्झौताबाट पर भाग्न पाइँदैन।”
उनले जाप पहाड़मा त्रिस्तरीय पञ्चायत चुनाउको पक्षमा रहेको तथा त्रिस्तरीय पञ्चायत चुनाउलाई आफ्नो घोषणा-पत्रमा पनि प्रमुख मुद्दाको रूपमा राखेको बताएका छन्। उल्लेखनीय छ, हिजो जाप उम्मेदवारले हिजो उनले पार्टीका ब्युरो सदस्य अनमोल प्रसादको विशेष सहभागितामा दार्जीलिङ शहरी क्षेत्रमा चुनाउ प्रचार गरेका थिए।
अर्कोतिर हिजै अमर लामाको पक्षमा जाप प्रमुख डा. हर्कबहादुर छेत्रीले गोक बस्तीमा चुनाव प्रचार गरे। त्यहाँ सम्पन्न एक चुनावी सभालाई सम्बोधन गर्दै उनले अमर लामा सबैभन्दा योग्य र इमानदार उम्मेदवार रहेको दाबी गर्दै उनलाई जिताउने जनतासँग उपील गरे।