दार्जीलिङ, १६ मई : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-का अध्यक्ष मन घिसिङले जाति नै बाँचेन भने विकास के गर्नु भन्दै गोर्खाहरूको दीर्घकालीन माग फत्ते गर्नका लागि दार्जीलिङ पहाड़का सबै राजनीति दललाई एकबद्ध हुने अपील गरेका छन्।
बिहीबार घिसिङले एक प्रेस विज्ञप्ति जारी गरी यस्तो आह्वान गरेका हुन्। उनले विज्ञप्तिमा भनेका छन्, “दार्जीलिङ विधानसभा उपचुनाउमा आफ्नो उम्मेदवारी दिनुहुने सम्पूर्ण उम्मेदवारलाई गोर्खाको दीर्घकालीन मागलाई फत्ते गर्नका लागि अपील गर्दछु, किनभने जातिको उन्मुक्ति सबैको लक्ष्य हो। यसका लागि तपाईं हामी एक हुन जरूरी छ। यसपालिको चुनाउ विकासका लागि नभएर जातीय अस्मिताको प्रश्न छ। जब जाति नै बाँच्न सकेन भने विकास गरेर के फाइदा हुन्छ? यो हाम्रो सुनौलो मौका हो, हामी सबै एक भएर केन्द्रमा बनिने नयाँ सरकारलाई दबाउ दिन सक्छौं। हाम्रा दीर्घकालीन मुद्दाहरू फत्ते गर्नसक्छौं। हामी जात भएर होइन जाति भएर बाँचौं। प्रथमतः गोर्खा भएर बाँचौं।”
उनले नीरज जिम्बा हारे सम्पूर्ण गोर्खा जातिकै हार हुने बताउँदै सबै गोर्खा जाति एकबद्ध भएर कमलको फूलमा भोट हालेर जिम्बालाई जिताउने अपील गरेका छन्।
“नीरज जिम्बा कुनै राजनीतिक पार्टीको उम्मेदवार नभएर गोर्खा जातिको उम्मेदवार हो। यदि दार्जीलिङ विधानसभाको उपचुनाउमा नीरज जिम्बाको हार भए सम्पूर्ण गोर्खाको हार हुनेछ”, मन घिसिङले विज्ञप्तिमा थप भनेका छन्, “जबसम्म हामीले एकताको सन्देश केन्द्र र राज्यलाई दिन सक्दैनौं, तबसम्म हाम्रो कुनै पनि दीर्घकालीन राजनीतिक समस्याको समाधान हुनसक्दैन।”
गोरामुमो अध्यक्षले राजनीति गर्ने समय धेरै रहेको, तर अहिले भने दलीय स्वार्थ त्यागेर अहिले जातीय उन्मुक्तिका लागि सबै दल एकबद्ध हुनुपर्ने आह्वान पनि गरेका छन्। यसका साथै भाजपाले आफ्नो सङ्कल्प-पत्र (घोषणा-पत्र)-मा गोर्खाहरूको समस्याको स्थायी राजनीतिक समाधान, ११ जातगोष्ठीलाई जनजातिको मान्यता र चियाश्रमिकहरूका लागि न्यूनतम रोजवृद्धि लागू गर्ने प्रतिबद्धता देखाएको उल्लेख गर्दै राष्ट्रिय पार्टीले यसरी दार्जीलिङ पहाड़का मुद्दाहरूलाई स्पष्टसँग सम्बोधन गरेको गोर्खाको इतिहासमा पहिलो मौका रहेको दाबी गरेका छन्।