दार्जीलिङ उपचुनाउको मतदान शुरु, ९ उम्मेदवारको हार-जीतको फैसला २, ३४, ७५८ मतदाताले गर्ने

0
1567
मतदान गरेपछि विनय तामाङ।

दार्जिलिङ, आइतबार बिहानदेखि 7 बजेदेखि दार्जीलिङ विधानसभा उपचुनाउको मतदान शुरु भएको छ भने यो समाचार तयार पारुञ्जेलसम्म तृणमूल कङ्ग्रेस समर्थित स्वतन्त्र उम्मेदवार विनय तामाङ, विमल गुरुङपन्थी गोजमुमो र गोरामुमो समर्थित भाजपा उम्मेदवार नीरज जिम्बा, जनआन्दोलन पार्टीका उम्मेदवार अमर लामा,  तृणमूल कङ्ग्रेसकी विद्रोही नेतृ एवं स्वतन्त्र उम्मेदवार शारदा राई सुब्बाले मतदान गरिसकेका थिए।

जानकारीका अनुसार कङ्ग्रेस र क्रामाकपा उम्मेदवार स्वराज थापाले बिहान १० बजे मतदान गर्नेछन्।अर्कोतिर गोरामुमो अध्यक्ष मन घिसिङले पनि बिहानै आफ्नो मतको प्रयोग गरे।

भाजपा उम्मेदवार नीरज जिम्बा।

दार्जीलिङ विधानसभामा कुल ९ उम्मेदवार चुनावी मैदानमा छन् भने २, ३४, ७५८ मतदाताले उनीहरूको जीत-हारको फैसला गर्नेछन्। चुनाउ आयोगले निष्पक्षल र शान्तिपूर्ण मतदानका लागि १६ कम्पनी केन्द्रिय सुरक्षा बल तैनाथ गरेको छ। दार्जीलिङमा कुल ३२१ वटा मतदान केन्द्र छन्, जसमध्ये ४५ वटा केन्द्रलाई संवेदनशील मतदान केन्द्र घोषित गरी यी केन्द्रहरूमा सुरक्षा व्यवस्था दह्रो बनाइएको छ।

अर्कोतिर मतदान गरेपछि विनय तामाङ र नीरज जिम्बाले आ-आफ्नो जीतको दाबी गरेका छन्। चुनावी मैदानमा ९ जना उम्मेदवार रहे तापनि तामाङ र जिम्बाबीच नै सोझो भिड़न्त हुने पक्कापक्की छ।

विनय तामाङले पत्रकारहरूसँग कुराकानी गर्दै आफ्नो जीत निष्चित रहेको दाबी गरे। दार्जीलिङका जनताको सेवा गर्नका लागि नै जीटीएको चौकी त्यागेर उपचुनाउमा खड़ा भएको दोहोऱ्याए। त्यस्तै भाजपा उम्मेदवार नीरज जिम्बाले पनि आफ्नो जीत निश्चित रहेको दाबी गरेका छन्। चुनाउ शान्तिपूर्ण र निष्पक्ष भएको खण्डमा फराकिलो मतान्तरले चुनाउ जित्ने जिम्बाको ठोकुवा छ। मतदान गर्नअघि उनी महाकाल बाबाको आशीर्वाद लिन पुगेका थिए।

जाप उम्मेदवार अमर लामा।

अर्कोतिर मुद्दा, व्यक्तिको योग्यता र इमानदारीपनलाई हेरेर आफूलाई जनताले भोट दिने कुरामा जाप उम्मेदवार अमर लामा विश्वस्त छन्। जनताले आफ्नो विवेकले सही व्यक्तिलाई मतदान गर्ने कुरामा आफू ढुक्क रहेको बताए।

स्वतन्त्र उम्मेदवार शारदा राई सुब्बा।

त्यस्तै तृणमूल कङ्ग्रेसविरुद्ध विद्रोही गरी स्वतन्त्र उम्मेदवारको रूपमा खड़ा भएकी शारदा सुब्बाले पनि आफ्नो जीत निश्चित रहेको दाबी गरेकी छन्। उल्लेखनीय छ, पछिल्लो लोकसभा चुनाउमा अमरसिंह राई तृणमूल कङ्ग्रेसका उम्मेदवार भएपछि विधायक पदबाट राजीनामा दिएकोले दार्जीलिङ विधानसभाको विधायक पद रिक्त भएको थियो, जसका लागि आज मतदान भइरहेको हो। यो उपचुनाउको मतगणना पनि आगामी २३ मईकै दिन हुनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here