“आधा बन्द, आधा खुलेजस्तो
जिन्दगीको ढोका हुरीमा झुलेजस्तो”
गजलगो खुसेन्द्र राईको आउन लागेको गजल एल्बम ‘आधा’-बाट प्रतिनिधि गजल ‘आधा’-को भिजुअल रिलिज भएको छ । ‘कुटुमा कुटु’ गीतबाट प्रसिद्धि कमाइसकेकी मेलिना राईको सुमधुर आवाजमा रेकर्ड गरिएको ‘आधा’ नेपालको लोकप्रिय युट्युब च्यानल ‘ओएसआर डिजिटल’-ले फिचर गरेको छ । काठमान्डुमा रेकर्डिङ गरिएको उक्त गजलको भिजुअल पारुल प्रोडक्सन, सिक्किम-ले लञ्च गरेको हो।
अति व्यस्तता, एकलासता, स्वार्थकेन्द्रिक समाजको मनोलगजस्तै देखिने आधाको कम्पोजिशनले समाजको स्थापित रूढ़देखि बाहिरको फ्रेमलाई एड्रेस गरेको पाइन्छ । समाज जति सतह सतहमा रम्न खोजिरहेको भ्रममा छ, उति उति भित्र एक्लो भइरहेको मानिसको मूल सत्ता-अस्तित्वलाई टेक्स्टमार्फत् यथार्थवादी चित्र दिन खोजेका छन् सर्जकले । अनुहारहरूको भीड़माझ हराइरहेको आफ्नै मौलिक अनुहारको खोजी हो ‘आधा’। आफ्नो अस्तित्वको दाबी गर्दै आजको सङ्घर्षरत् मानिस आधा खुल्ला, आधा बन्द दैलोबाट पसुँ कि निस्कुँको दोधारको गीत दरिएको आधालाई दार्जीलिङका उम्दा निर्देशक-सिनेम्याटोग्राफर पल्लविब राईले भिजुअलमा उतार्न खोज्दा अलि एब्स्ट्र्याक्ट पनि भएको छ भिजुअल।
“एउटा अन्तिम गजल सङ्ग्रह र गजलको एल्बम निकाल्ने मेरो रहरको कुरा थियो । एल्बम ‘आधा’-को कुरा हुँदै गर्दा एल्बमबाटै एउटा गजलको भिजुअल बनाउने कुराको मेसो चल्यो । निर्देशकको रूपमा हाम्रै भेकका उज्यालो प्रतिभा पल्लविब राई जुरे । उता, पपुलर मेलिना राईको गजल रेकर्ड गर्न काठमान्डु जान पर्ने भयो। यता कवि राजा पुनियानीले अभिनय गरिदिने भए। पल्लविबको प्रतिबद्ध टिमले लगभग आठ महिनाको मिहिनेत लगानी गरेको छ, भिजुअल तयार गर्न। एल्बम तयार हुन २ साल लागेको हो। अनुभव यही रह्यो – रहर मात्र काफी नहुँदो रहेछ जिन्दगीमा। असल मित्र र नि:स्वार्थ मार्गनिर्देशक पनि चाहिँदो रहे,” भिजुअल रिलिज भइरहेको अवसरमा सर्जक खुसेन्द्र राईले मन्तव्य गरेका छन्।
पल्लविबले सिनेम्याटोग्राफी गरेका विश्वप्रसिद्ध वादक रिकी केजको भिजुअलले ग्रामी पुरस्कारसम्म जितेको हो । मुम्बईमा केही साल स्किल उध्याएर आफ्नै ठाँउको मायामा फर्किएका पल्लविबले राजा पुनियानीको कवितासँग सिनेम्याटोग्राफीको चुनौतिपूर्ण फ्युजन गराए । ‘भ्रमपहाड़’ र ‘इनकाउन्टर’ जस्ता मल्टिमिडिया पोएट्री ल्याएर कवितामा नयाँ ट्रेन्ड ल्याउने हठै देखाएका हुन्।
राजा पुनियानीको ‘साइकल’, सुदर्शन तामाङको ‘मौनता’, पुष्कर पराजुलीको ‘डम्पिङ ग्राउण्ड’, प्रकाश सुन्दासको ‘खुल्ला आकाश’, द ट्र्याभलर्सको ‘साँचो माया’ –बाट ख्याति आर्जन गरिरहेका पल्लविबले नयाँ भिजुअल निस्कँदै गर्दा आफ्नो उद्गार राखे, “पहिले बाबाको टेपमा उनले सुनिरहेका गजलहरू कानमा पर्दा शब्दहरूको मात लाग्थ्यो । यसैले गजलमाथि नक्साहरू बुनेर भिजुअल बनाउनुपर्ने हुँदा शब्दलाई नै मुटु सोच्नु ठीक लाग्यो । आधा रात मेसेन्जरमै राजा पुनियानी र मैले कन्सेप्ट बुन्यौँ । खुसेन्द्र राईले लेख्नु भएको आधा भित्र-बाहिर, शुरूमै हुरीमा झुलिरहेको ढोका छ । न बन्द, न खुल्ला । त्यो ढोका एउटा अवधि र मनोस्तिथिको प्रतिबिम्ब हो । स्क्रिनमा ती शब्दहरू र सङ्गीतमाथि बग्ने नक्साहरू र कथालाई पनि त्यसरी नै झुलाइराख्ने कोशिश गरेको छु।
भिजुअलको रचनागर्भ खोल्दै पल्लविब थप्छन्, “युग बितोस् तर पात्रको एउटा समयभित्रको रहर र कल्पनालाई त्यहीँ अड़ाइराखु पर्ला भनी सोचेँ । जुन खाले पात्रलाई संसारको रियल रङ्गगमञ्चमा हामी सन्किएको भनेर सम्बोधन गरेका हुन्छौँ, शायद। तर कल्पना गर्नु र त्यसलाई नक्सामा उतार्नुमा खतरा भिन्नता हुन्छ। भनेजस्तै, सोचेजस्तै बनिएको छ जस्तो चाहिँ लागेको छैन। तर, त्यही गजल सुन्ने बाबाले भन्थे – ‘मान्छे एक्कैचोटि रोनाल्डो भएर जन्मिँदैन, अभ्यासले बनाउँछ रोनाल्डो। गजल भिडियो बनाउने चस्का लागेको छ । आधा पस्केका छौँ। मन परे-नपरे पनि एक लाइक चाहिँ अवश्य ठोकिदिनु होला।’
राजा पुनियानी र पूजा कँड़ेलको अभिनय रहेको भिजुअल गजल ‘आधा’-मा दार्जीलिङका चर्चित सङ्गीतकार दिवस गुरुङको धुन र जीवन प्रकाश प्रधानको एरेञ्जमेन्ट रहेको छ।
साङ्ग्रिला इन्डियाबाट प्रकाशित ताजा कथा सङ्ग्रह ‘खुर्मी’-बाट बजारमा कथाकारको रूपमा समेत चर्चा बटुलिरहेका जूम, सिक्किम निवासी खुसेन्द्र राईको गजल एल्बम ‘आधा’-ले पनि श्रोताको स्नेह पाउने छाँट छ। खुसेन्द्र अहिलेघरी गजल किताबको प्रकाशनको तयारी र नयाँ उपन्यास लेखनमा व्यस्त छन्।