अरुणाचल प्रदेशका विधायकसहित ११ जनाको हत्या

0
1948
अरुणाचल प्रदेशका विधायक तिरोङ अबो (फाइल फोटो)।

गुवाहाटी, २१ मई : अरुणाचल प्रदेशको तिराप जिल्लामा मङ्गलवार बिहान करिब ११ बजे उग्रवादीहरूले नेशनल पिपुल्स पार्टीका विधायक तिरोङ अबोसहित ११  जना मानिसको हत्या गरेका छन्। तिरोङ अबो सत्तारूढ़ पार्टीका विधायक थिए।

उक्त आतङ्की हमलामा विधायक तिरोङ अबोका छोराको पनि मृत्यु भएको छ। एनएससीएनका उग्रवादीहरूले बाटो ढुकेर हमला गरेका थिए। जानकारीका अनुसार यो घटनामा घाइते भएका दुईजनाको अवस्था चिन्ताजनक छ। पुलिस सूत्रका अनुसार उग्रवादीहरूले तिरोङ अबोलाई यसभन्दा अघि हत्या गर्ने धम्की दिएका थिए। अबो एनपीपीका विधायक निर्वाचित हुनअघि कङ्ग्रेसका विधायक थिए। पुलिसका अनुसार विधायक तिरोङ अबो तीनवटा गाड़ीको कन्भेयसँग कतै गइरहेका थिए। यसमध्ये एउटा वाहन उनकै छोराले चलाइरहेका थिए, जुन वाहन सबैभन्दा अघि थियो। क्षेत्रमा सक्रिय रहेको एनएससीएन उग्रवादीहरूले पहिलो वाहनलाई बाटो बीचमा नै रोकेर अत्यन्त नजिकबाट जताभावी गोली प्रहार गरे। जानकारीका अनुसार अनुसार सबै उग्रवादी लड़ाकुको वेषभूषामा थिए। घटनापछि असम राइफल्सले क्षेत्रमा खोजी अभियान शुरु गरेको छ।

अर्कोतिर अरुणाचल प्रदेशका  मुख्यमन्त्री कोनराड साङ्माले यो हमलाको कड़ा शब्दमा निन्दा गर्दै दोषी उग्रवादीहरूलाई कड़ाभन्दा कड़ा सजाय दिनुपर्ने माग गरेका छन्। मुख्यमन्त्री साङमाभनेका छन्, “विधायक तिरोङ अबो र उनको परिवारको हत्याले एनपीपी स्तब्ध र दुःखी बनेको छ। हामी यो हमलाको निन्दा गर्दछौं। साथै गृहमन्त्री राजनाथ सिंह र प्रधानमन्त्री नरेन्द्र मोदीसँग यो हमलामा सामेल उग्रवादीविरुद्ध कठोर कारबाही गर्ने आग्रह गर्दछु।”

स्मरणरहोस्,  उग्रवादीहरूले यसभन्दा अघि पनि एनपीपी र भाजपाका स्थानीय नेताहरूको हत्या गरेका थिए।

उल्लेखनीय छ, पछिल्लो २७ अप्रेलको छत्तीसगढ़को दन्तेवाड़ा जिल्लामा नक्सली हमलामा भारतीय जनता पार्टीका विधायक भीमा मण्डावीको मृत्यु भएको थियो। भीमा मण्डावीलगायत तीनजना ३ पीएसओ र वाहन चालकको नक्सलीहरूले हत्या गरेका थिए।

उक्त नक्सलीहरूले विधायक भीमा मण्डावीको लस्करलाई तारो बनाएका थिए। हमला भएको समय विधायक मण्डाली लोकसभा चुनाउको प्रचार गर्न गइरहेका थिए।  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here