दार्जीलिङ, 21 मई : मङ्गलबार अखिल भारतीय गोर्खा लीग दुवै गुट (प्रताप खाती र भारती तामाङ गुट) लगायत परिवारका सदस्यहरूले पार्टीका पूर्व अध्यक्ष स्व. मदन तामाङको नवौं पूण्यतिथि पालन गरे। उनीहरूले स्थानीय क्लब साइडस्थित मदन तामाङको स्मारकमा श्रद्धाञ्जली अर्पण गरे। साथै आत्माशान्तिका लागि प्रार्थना पनि गरे।
यसअवसरमा उनीहरूले एकै स्वरमा मदन तामाङको हत्याकाण्डको चाँड़ोभन्दा चाँड़ो जाँच कार्य पूरा गरी दोषी व्यक्तिहरूलाई पक्राउ गर्नुपर्ने माग दोहोऱ्याए।
गोर्खा लीगका अध्यक्ष मदन तामाङको दिउँसै हत्या भएको, तर अझैसम्म यो हत्याकाण्डको जाँच पूरा नभएको तथा हत्यारा पक्रा पर्न नसकेकोमा रोष प्रकट गरे।
यसबारे बोल्दै स्व. तामाङकी पत्नी एवं भारती गुट गोर्खा लीगका अध्यक्ष भारती तामाङले भनिन्, “मेरा पतिको हत्या भएको 9 वर्ष बितिसक्दा पनि अझै हामीले न्याय पाएका छैनौं। उनको हत्याकाण्डमा सामेल दोषीहरूलाई पक्राउ गरी उचित सजाय दिनुपर्छ भन्ने हाम्रो माग छ।”
मदन तामाङका भाइ एवं जनआन्दोलन पार्टीका नेता अमर लामाले भने, “मेरा दाजु बाघजस्तो मान्छे थिए। पछिबाट कसैको कुरा काट्दैन थिए, तर सत्यका लागि अघिबाटै झम्टिने उनी व्यक्ति थिए।’’ लामाले मदन तामाङले देखेको सपना साकार बनाउनका लागि लगातार लागिपर्ने पनि बताए। उनले चार्जसीट अघिबाटै दर्ता भइसकेको, तर कतिपय प्रमाणहरू सटिक रूपमा पुलिसले अझै नबुझाएको बताए।
“एउटा महत्त्वपूर्ण प्रमाण भोइस डेटा रेकर्ड छ। यो कुरा दार्जीलिङमा थोरैलाई मात्र थाहा छ। किनभने चार्जसीट दर्ता गरिञ्जेलसम्ममा हामी कोलकाता न्यायालय र सर्वोच्च न्यायालय गयौं”, लामाले थपे, “बङ्गालका एकजना वरिष्ठ पुलिस अधीक्षकले भोइस डेटा रेकर्ड एकजना भूतपूर्व सभासदबाट बाक्लो पैसा लिएर आफूसँग राखेका छन्। सीबीआईलाई पनि उनले त्यो भोइस डेटा रेकर्ड बुझाएका छैननन्। यो दुर्भाग्यपूर्ण कुरा हो। आज शारदा घोटालामा यस्तै डेटा रेकर्ड लुकाएको मामिलामा सीबीआईले उनलाई पक्राउ गर्न खोज्दैछ, ती पुलिस अधिकारीले त्यस्तै डेटा रेकर्ड मदन तामाङ हत्याकाण्डको पनि लुकाएका छन्। यसका लागि हामीले डेढ़ वर्षअघि सर्वोच्च न्यायालयमा याचिका दर्ता गरेका छौं। यद्यपि अहिलेसम्म यसको सुनवाइ भएको छैन।’’
उनले यो मामिलाको एकदिन सर्वोच्च न्यायालयले सुनवाइ गर्नेछ भन्ने कुरामा विश्वस्त रहेको पनि बताए।
अर्कोतिर प्रताप खाती गुट गोर्खा लीगका महासचिव प्रताप खातीले पनि मदन तामाङले चाँड़ोभन्दा चाँड़ो न्याय पाउनुपर्ने माग गरे। उनले मदन तामाङले देखेको सपनालाई पूरा गर्नका लागि दार्जीलिङ पहाड़का सम्पूर्ण राजनीतिक दलहरूलाई अघि आएर छुट्टै राज्य गोर्खाल्यान्डका लागि प्रतिबद्ध र सङ्कल्पित भएर सङ्घर्ष गर्ने आह्वान गरे। उल्लेखनीय छ, 21 मई 2010 को दिन बिहानको समय स्थानीय क्लब साइडमा तत्कालीन गोर्खा लीग अध्यक्ष मदन तामाङको हत्या भएको थियो। क्लब साइडमा जनसभाको तयारी गरिरहेको बेला तामाङको हत्या भएको थियो।