गान्तोक, 21 मई : पछिल्लो वर्षको 24 सेप्टेम्बरको दिन प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको पाकिमस्थित ग्रीनफिल्ड हवाईअड्डाबाट आउँदो 1 जूनदेखि हवाई सेवा बन्द हुने देखिएको छ। धेरैवटा तक्निकी कारणले पाकिम हवाईअड्डाबाट स्पाइसजेटले आफ्नो सेवा बन्द गर्ने फैसला गरेको केही राष्ट्रिय अङ्ग्रेजी दैनिकहरूमा समाचार प्रकाशित भएको छ।
रनवे क्षेत्रको कमी र सटीक रडार व्यवस्थाको कमीको कारण स्पाइसजेटले आफ्नो हवाई सेवा बन्द गर्ने निर्णय गरेको बताइएको छ। यद्यपि स्पाइसजेटले पाकिम-कोलकाताबीच हवाई सेवा सञ्चालन गरिरहेको समय यात्रुहरूको कमी कारण हवाई सेवा बन्द गर्न लागेको बताएको छ। पाकिम हवाईअड्डामा धेरै तक्निकी असुविधा भएको र रनवेको क्षेत्र साँघुरो रहेको अघिबाटै चर्चा चलेको हो।
जमिन विवादको कारण रनवेलाई बढ़ाउन पनि एयरपोर्ट अथोरिटी अव् इन्डियाले अघि असमर्थ जताएको थियो।
उल्लेखनीय छ, यो हवाईअड्डाबाट हवाई सेवा सुचारू शुरु भएको केही दिनपछि पाकिम-गुवाहाटी हवाई सेवा शुरु भएको थियो। यद्यपि एक-दुई दिन चलेपछि यात्रुहरूको कमीको कारण पाकिम-गुवाहाटी हवाई सेवा बन्द भएको थियो।
वर्तमानमा स्पाइसजेटबाहेक अन्य कुनै कम्पनीहरूले पाकिम हवाईअड्डाबाट हवाई सेवा शुरु गरेका छैनन्। त्यसैले स्पाइसजेटले हवाई सेवा बन्द गरेको खण्डमा यो हवाईअड्डाबाट व्यावसायिक हवाई सेवा सङ्कट पर्नेछन्।
अर्कोतिर, बर्खा शुरु भएपछि पैह्रो जाने आशङ्कालाई ध्यानमा राखेर पनि स्पाइसजेटले यस्तो निर्णय लिएको हुनसक्ने सूत्रले बताएको छ। जमिन विवादको कारण रनवेलाई बढ़ाउन नसक्दा यसको क्षेत्रफल बर्खा यामको समय विमानलाई अवतरणमा समस्या पर्नेछ। यसैबीच जमिनको क्षतिपूर्तिको मामिला सिक्किम उच्च न्यायालयमा विचाराधीन छ, जसको आगामी सुनवाइ 30 मईको दिन हुनेछ।
पाकिम हवाईअड्डा राज्यको एक मात्र हवाईअड्डा हो। यसलाई राज्यको पर्यटन विकासका लागि महत्त्वपूर्ण मानिएको छ। यद्यपि यो हवाईअड्डामा व्यावसायिक उड़ान बन्द भएको खण्डमा राज्यको पर्यटन व्यवसायमाथि पनि ठूलो असर पर्ने निश्चित छ।