हामी दुइवटै चुनाउ जित्नेछौं : भुवन पी. खनाल

0
1458
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भुवन खनाल र अन्य।

कालेबुङ, 22 मई : विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा  (गोजमुमो) कालेबुङ जिल्ला कमिटीले लोकसभा र विधानसभा दुवै चुनाउ जित्ने ठोकुवा गरेको छ। बुधवार कालेबुङमा एक पत्रकार सम्मेलनअवधि वियनपन्थी मोर्चाले यस्तो दाबी गरेको हो।

पत्रकारहरूलाई सम्बोधन गर्दै पार्टी प्रवक्ता भुवन पी. खनाले भने, “हामीलाई विश्वास छ,  लोकसभा र विधानसभा दुइवटै चुनाउ हामी जित्नेछौं। हामीले जनताबाट जुन प्रतिक्रिया पाएका छौं, जउनीहरूले हामीलाई जुन सकारात्मक प्रतिश्रुति दिएका छन्, र जनताले जसरी हाम्रो पक्षमा मतदान गरेका छन्, त्यसलाई हेरेर हामी जीतप्रति आश्वस्त छौं। लोकसभा चुनाउमा अमरसिंह राई र विधानसभा चुनाउमा विनय तामाङको जीत निश्चित रहेको हामीले देखिरहेका छौं।”

खनालले गरेको दाबीका अनुसार भोलि दुइवटै जीतपछि पार्टीले दार्जीलिङ, खरसाङ, कालेबुङलगायत समतलमा विजयी  उत्सव मनाउनेछ। उनले भोलिको चुनाउ परिमाण विनयपन्थी गोजमुमो र पहाड़वासीको हितमा हुने कुरामा पार्टीका सबै विश्वस्त रहेको पनि बताएका छन्।

“चुनाउ एउटा औपचारिकता मात्र हो। चुनाउ सकिएको छ। दुइवटै चुनाउको घोषणा भोलि हुँदैछ। चुनाउअवधिभित्र विभिन्न राजनीतिक दलहरूसँग हाम्रो विभिन्न आरोप प्रत्यारोप लगाउने कार्यहरू भए”, उनले भने, “तर अबउसो भोलि चुनाउ परिणामको घोषणा भएपछि दार्जीलिङ, कालेबुङ, खरसाङलगायत सिङ्गो दार्जीलिङ पहाड़को शान्ति सुरक्षालाई ध्यानमा राखेर काम गर्नुपर्छ। हामीले आपसी सद्भाव र भाइचारालाई कायम राख्नुपर्छ। हामी सम्पूर्ण पहाड़वासी पुनः एक भएर विकासतर्फ, आफ्नो लक्ष्यको मार्गतिर अग्रसर हुनुछ।”

खनालले आफ्ना पार्टीका कार्यकर्ताहरूलाई उत्तेजित नहुने, अनुशासनबद्ध भएर शान्ति शृङ्खलामा बनाइराख्नका लागि प्रशासनको आदेशलाई मान्ने अपील गरे।

“हामी कसैलाई गाली गर्दैनौं। अपशब्द प्रयोग गर्दैनौं। हामी शान्ति शृङ्खलालाई ध्यान राखेर काम गर्नेछौं। र पहाड़को शान्ति सुरक्षाका लागि सधैँ गोर्खा जनमुक्ति मोर्चा प्रतिबद्ध छ”, खनालले दाबी गरे, “विनय तामाङ र अनित थापाको नेतृत्वमा जब पहाड़मा जीटीए सञ्चालन भयो, त्यसपछि पहाड़को शान्ति, पहाड़को सुरक्षा, पहाड़को विकास र पहाड़को समृद्दि हाम्रो चाहना हो। हाम्रो लक्ष्य हो। यो हाम्रो मूल मन्त्र हो। हामी पहाड़मा कुनै प्रकारको अशान्ति सिर्जना नहोस् भन्ने चाहन्छौं।”

दार्जीलिङ पहाड़मा बाहिरबाट आएर अशान्ति सिर्जना गर्ने, अवरोध सिर्जना गर्ने, पहाड़मा पुनः अशान्ति सिर्जना गर्ने असामाजिक तत्त्वहरूमाथि प्रशासनले कड़ा द़ृष्टि राख्नुपर्ने माग गर्दै पार्टीले आफ्ना कार्यकर्ता र समर्थकहरूलाई शान्ति शृङ्खला बनाइराख्नका लागि एउटा निर्दिष्ट दिशानिर्देश दिइसकेको पनि ठोकुवा गरे।

खनालले आज स्थानीय जिल्ला कार्यालयमा पार्टीको सभा बसेको र उक्त सभामा भोलिको मतगणना  र लोकसभा चुनाउबारे व्यापक छलफल गरिएको जनाए।

यसका साथै उनले आफ्नो पार्टीका कार्यकर्ताहरूले भोलि मतगणनाका लागि चुनाउ एजेन्टहरूलाई समयमा नै मतगणनास्थल सन्त अगस्टिन स्कूलमा पुगिदिने तथा पार्टीका कार्यकर्ताहरूलाई प्रशासनले उपलब्ध गराएको स्थलमा अनुशासित भएर बसिदिने अपील पनि गरे।

पत्रकार सम्मेलनमा युवा मोर्चा नेताद्वय विनय घिसिङ र अमिर बस्नेतलगायत अन्य उपस्थित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here