दार्जीलिङ 22 मई : गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) प्रमुख विमल गुरुङले लोकसभा र विधानसभा दुइवटै चुनाउ भारतीय जनता पार्टीले जित्ने ठोकुवा गरेका छन्।
बुधबार एक अडियो जारी गरी गुरुङले लोकसभा र दार्जीलिङ विधानसभा उपचुनाउमा सबैले जुन सङ्कल्पले भोट हालेका छन्, त्यसले दुइवटै चुनाउ जित्ने सङ्केत दिइसकेको र आफूहरूले जीतको विश्वास र आस्था लिएर बसेका बताएका छन्। यसका साथै उनले भोलिको दिन पहाड़का जनताका लागि अत्यन्त महत्त्वपूर्ण दिन रहेको बताएका छन्।
गुरुङले भोलिको दिनमा कुनै प्रकारको घटना हुनसक्ने आशङ्का व्यक्त गर्दै यस्तो सङ्केत पाएको बताएका छन्। साथै जनतालाई यस्ता घटनाबाट जोगिने र विपक्षी दलले बिघ्न बाधा र झैझगड़ा सिर्जना गर्नसक्ने आशङ्का व्यक्त गर्दै यसबाट चनाखो र सतर्क बसिदिने अपील गरेका छन्।
“उनीहरू (विनय-अनितहरू)-को उद्देश्य राम्रो छैन, त्यसैले हामी आफै जोगिएर काम गर्नुपर्छ भन्ने म तपाईंहरूलाई अपील गर्दछु। यसका साथै भोलिको दिनमा नराम्रो कुराहरू एकदमै अलग्गै बसिदिने अपील गर्छु।”
उनले आरोप लगाउँदै थप भनेका छन्, “हामीलाई लाग्छ, भोलिको दिनमा केही न केही घटना घटाउन, मद्पान गराएर दङ्गा फसाद र झै झगड़ा लगाउने कोशिश भइरहेको छ। त्यसैले गर्दा हामीले शान्तिमय राखिदिने, कुनै प्रकारको नराम्रा कुराहरूमा हाम्रा दाजु-भाइहरूलाई सामेल गराउला, त्यसमा नपसिदिने जनतालाई म अपील गर्न चाहन्छु।”