दार्जीलिङ, 23 मई : दार्जीलिङ लोकसभा सीटबाट भारतीय जनता पार्टी (भाजपा)-का उम्मेदवार राजु विष्टले रेकर्ड भोटले चुनाउ जितेका छन्।
विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो), गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो), क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा), अखिल भारतीय गोर्खा लीग (अभागोली) प्रताप खाती गुट, गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा (गोरानिमो)-जस्ता राजनीतिक पार्टी र कृषक कल्याण सङ्गठन (केकेएस), गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष सङ्गठन (जीएसएसएस) र गोर्खाल्याण्ड राष्ट्रिय कमिटी (गोरासं), गोर्खाल्याण्ड पिपुल्स मूभमेन्ट (साझा मञ्च) जस्ता गैर-सरकारी सङ्गठनहरूले समर्थन गरेको भाजपा उम्मेदवार विष्टले विनयपन्थी गोजमुमो र पहाड़का विभिन्न जातगोष्ठीका विकास बोर्डहरूद्वारा समर्थित तृणमूल उम्मेदवार अमरसिंह राईलाई 3,74,743 मतान्तरले पराजित गरेका हुन्। विष्टले 6,75,517 मत पाए भने राईले केवल 3,00,774 मत पाए।
लोकसभा चुनाउमा भाजपाले लगातार तेस्रोपटक जीत दर्ता गरेको हो। यसभन्दा अघि सन् 2009 मा जसवन्त सिंहले र 2014 मा एसएस अहलुवालियाले दार्जीलिङबाट जीत दर्ता गरेका थिए। यद्यपि विष्टले रेकर्ड भोटले जितेका छन्।
दार्जीलिङ लोकसभा सीटमा दार्जीलिङ, कालेबुङ, खरसाङ गरी तीनवटा पहाड़का र फासीदेवा, सिलगढ़ी, चोपड़ा र मतिगढ़ा-नक्सलबारी क्षेत्र पर्छन्। यीमध्ये अधिकत्तर क्षेत्रबाट विष्टले बाक्लो भोट पाए, जसको कारण उनको रेकर्ड जीत सम्भव बनेको हो। विजयी बनेका राजु विष्टले रेकर्ड जीतका लागि दार्जीलिङ पहाड़वासीलाई धन्यवाद दिँदै यो जीत पहाड़वासीको रहेको बताएका छन्।
उनले भने, “यो जीत पहाड़वासीकोल जीत हो। मोदीको जीत हो। भाजपाले देशमा गरेको विकासको जीत हो। देशलाई विश्वमा अग्र बनाउने मोदीले जुन सपना देखेका छन्, त्यसमा दार्जीलिङ पहाड़को पनि ठूलो योगदान रहनेछ। उनले घोषणा-पत्रमा उल्लिखित पहाड़का सबै मुद्दाको समाधान गर्ने वचनबद्धता जाहेर गरे।
“हामीले जुन वचन चुनाउ प्रचारअवधि दिएका छौं, त्यसलाई पूरा गर्नका लागि हाम्रो जिम्मेवारी बढ़ेको छ। हामीले चुनाउ प्रचारमा गरेका वाचाहरू पूरा गर्नुपर्ने अब समय आएको छ”, उनले थपे, “दार्जीलिङ पहाड़मा जुन शान्तिपूर्ण चुनाउ सम्पन्न भएको थियो, त्यसका लागि विपक्षी दलहरूलाई पनि म धन्यवाद दिन्छु। हाम्रो विचारधाराको जीत भएको छ।” यसैबीच उनले चुनाउ प्रचार अवधि गरेका सबै वाचा पूरा गर्ने प्रतिबद्धता दोहोऱ्याए।