गान्तोक, 26 मईः अन्तत: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका अध्यक्ष पीएस गोले सिक्किमका छैटौं मुख्यमन्त्री बन्नेछन्। राज्यपाल गङ्गा प्रसादले एसकेएम पार्टीद्वारा सरकार गठन गर्न पेश गरिएको प्रस्तावलाई स्वीकार गरेका छन्।
एसकेएम पार्टी अध्यक्ष गोलेको नेतृत्वमा निर्वाचित सदस्यहरूको एक टोलीले शनिवार राज्यपाललाई राजभवनमा भेटेर प्रस्ताव पेश गरेको थियो। राज्यपाल प्रसादले आइतवार एसकेएम पार्टीको उक्त प्रस्तावलाई स्वीकार गरेका छन्।
राजभवनद्वारा जारी बयानअनुसार सोमवार बिहान 10 बजी पाल्जर स्टेडियममा मुख्यमन्त्रीलगायत मन्त्रीपरिषद्का सदस्यहरूको शपत ग्रहण समारोह सम्पन्न हुनेछ।
राज्यपालको स्वीकृतिपछि पीएस गोले मुख्यमन्त्री बन्न पाउने वा नपाउने भन्ने विषयलाई लिएर चलिरहेको अड़कलबाजीमाथि पूर्णविराम लागेको छ। एसकेएमले पहिलाबाटै पार्टी अध्यक्ष पीएस गोले नै मुख्यमन्त्री बन्ने आफ्नो अड़ान स्पष्ट गरिसकेको थियो भने विशेष गरी एसडीएफ पार्टीले यो सम्भव नरहेको दाबी गर्दै आएको थियो।
उल्लेखनीय छ, भ्रष्टाचारको मामिलामा एक वर्षको सजाय भोगिसकेका पीएस गोलेले हालै सम्पन्न विधानसभा चुनाउमा प्रतिद्वन्द्विता गर्न पाएनन्। यसैको आधारमा उनी मुख्यमन्त्री पनि बन्न नपाउने दाबी एसडीएफले गर्दै आइरहेको थियो।
अर्कोतिर, गान्तोकस्थित पाल्जर स्टेडियममा भोलि सम्पन्न हुन लागिरहेको शपथ ग्रहण समारोहलाई लिएर तयारी चलिरहेको छ।
राज्यका मुख्य सचिवको निर्देशनमा राज्यको गृह विभागले पाल्जर स्टेडियममा शपथ ग्रहण समारोहको लागि मञ्च तयार गरेको छ। राज्यपालले भोलि बिहान ठीक 10 बजी मुख्यमन्त्रीका रूपमा पीएस गोले र मन्त्रीपरिषद्का सदस्यहरूलाई शपथ ग्रहण गराउनेछन्।