खरसाङ, २७ मई : गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समिति (जीएसएसएस)-ले दार्जीलिङ पहाड़वासीको जनाकांक्षा पूर्ण गर्नका लागि बाटो निर्माणहेतु कसरत गर्ने बताएको छ। सोमबार जीएसएसएसकी प्रवक्ता अञ्जनी शर्मा भुजेलले एक प्रेसविज्ञप्ति गरी यसबारे जानकारी गराएकी छन्।
यसका साथै जीएसएसएसले आउँदो जुलाई महिनाको पहिलो साता राष्ट्रियस्तरको सङ्गोष्ठी आयोजन गर्ने तय गरेको छ। उक्त सङ्गोष्ठीमा यसपालिको लोकसभा चुनाउमा विजयी बनेका राजु विष्ट (दार्जीलिङ), इन्द्रहाङ सुब्बा (सिक्किम), माला राज्य लक्ष्मी शाह (उत्तराखण्ड)) र जोन बारला (अलिपुरद्वार)-लाई निम्ताएर बधाई दिने योजना बनाएको पनि उनले बताएकी छन्।
कार्यक्रमकै लागि सिक्किमका नवनिर्वाचित मुख्यमन्त्री पीएस गोलेसँग पनि समितिले सम्पर्क गरिरहेको शर्माको भनाइ छ।
उनका अनुसार जीएसएसएस एक नयाँ राजनीतिक र सामाजिक परिवेश निर्माणको तयारीमा लागिपरेको छ। साथै यसले जुलाईको पहिलो साता आयोजन गर्ने कार्यक्रमको मुख्य उद्देश्य गोर्खाहरूको जीतलाई राष्ट्रियस्तरमा दर्ता गराउनका साथै जनाकांक्षा पूर्ण गर्नका लागि उचित पहलको तयारी गर्नु हुनेछ।
यसका साथै जीएसएसएसले विजयी बनेका उल्लिखित सबै उम्मेदवारलाई जीएसएसएसले बधाई दिएको छ।