कोलकाता, 28 मई : मङ्गलबार राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई ठूलो झट्का लागेको छ। आज तृणमूल कङ्ग्रेसका दुई तथा माकपाका विधायकलगायत 50 भन्दा बढ़ी नगरपार्षद् भाजपामा सामेल भए।
आज तृणमूल विधायक शीलभद्र दत्त र सुनिल सिंह तथा माकपाका विधायक देवेन्द्र रायले भाजपाको झण्डा समाएको बताइएको छ।
यसका साथै मुकुल रायका छोरा शुभ्रान्शु राय पनि सामेल भएका छन्। शुभ्रान्शु तृणमूलका विधायक हुन्। उनलाई केही दिनअघि तृणमूल कङ्ग्रेसले अनुशासनात्मक कारबाही गर्दै 6 वर्षका लागि पार्टीबाट निष्कासित गरेको थियो।
शुभ्रान्शुकै अगुवाइमा उनीहरू भाजपामा सामेल हुन आज दिल्ली पुगेका थिए। यसअवसरमा अमित शाह पनि उपस्थित थिए।
भाजपा सूत्रका अनुसार शुभ्रान्शुसँग हालिशहरका करिब 18 पार्षद्, नैहाटीका 17 नगरपार्षद् र काञ्चरापाराका 16 नगरपार्षद्ले आज भाजपाको झण्डा समाते। उनीहरूले तृणमूल कङ्ग्रेस छोड़ेपछि ममताको पार्टीले तीनवटा नगरपालिकाबाट बहुमत गुमाएको छ।
यसभन्दा अघि नै भाटपारा नगरनिगम भाजपाले कब्जा गरेको थियो। दिल्लीमा मुकुल रायले दाबी गरेका अनुसार आगामी दिनमा भाजपाले 60 नगरपालिका कब्जा गर्नेछ। ‘‘आगामी दुई तीन महिनामा भाजपाले राज्यका 55-60 नगरपालिकामा कब्जा गर्नेछ’’, मुकुलले भने।
उनले गङ्गारामपुरका गौतम दास र विष्णुपुरका तुषारकान्ति भट्टाचार्य पनि भाजपामा सामेल हुने सम्भावना रहेको बताए। दुवै तृणमूलका विधायक हुन्। उनको दाबीका अनुसार अझै चारजना विधायक भाजपामा सामेल हुनसक्छन्।
आज यी पार्षद्हरूलाई भाजपामा सामेल गराउन तृणमूल त्यागेर भाजपाको टिकटमा ब्यारेकपुरबाट लोकसभा चुनाउ जितेका अर्जुन सिंहको ठूलो योगदान छ। सामेल हुने पार्षद्हरूमा महिला पार्षद्हरूको सङ्ख्या धेरै छ।